झापा । आजदेखि झापा जिल्लाका सबै स्थानीय तहमा जापानिज इन्सेफलाइटिस अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियान सुरु हुँदैछ ।
कार्यक्रम अन्तर्गत जिल्लाका १५ वटै स्थानीय तहमा ३० वर्षमाथिका ४ लाख ८५ हजार ५५ जनालाई खोप दिने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ ।
खोप कार्यक्रम आज असोज ५ गतेदेखि १५ गतेसम्म अर्थात् १० दिन सञ्चालन हुनेछ । जिल्लामा अभियानका लागि पाँच लाख ७० हजार डोज खोप प्राप्त भएको र अभियानको तयारी पूरा भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
खोप कार्यक्रम सञ्जालन गर्न झापाका १५ पालिकाका १३१ वडामा ९ सय वटा खोप केन्द्र स्थापना गरिएका छन् ।
यी केन्द्रमा करिब ५ सय जना स्वास्थ्यकर्मी, ६११ जना महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ । पछिल्लो समयमा झापामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि खोप सञ्चालन गरिएको हो ।
क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगका कारण झापामा १३ जनामा संक्रमण देखिएकोमा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुने कसैले पनि खोप लगाएको पाइएको छैन ।
गर्भवती, खोप लगाउँदा गम्भीर एलर्जी (एनाफिलेक्सिस) भएका व्यक्तिहरुले भने यो खोप लगाउन नहुने कार्यालयले जनाएकोछ । त्यस्तै, ज्वरो आएको छ भने निको भएपछि लगाउन सकिने जनाइएको छ ।




