काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिनका लागि आज न्युयोर्क जाने भएका छन् ।
प्रधानमन्त्री शाह ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज न्युयोर्क जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शाहले महासभालाई बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसअघि परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने भनिए पनि रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्रीले नै महासभामा गएर जलवायु परिवर्तनका असरबारे धाराणा राख्नुपर्ने दबाब बढेको थियो ।
रसुवा बाढीमा परी करिब १४ जनाको मृत्यु भएको छ भने अझै ५ हजारभन्दा बढी बेपत्ता छन् । सोही कारण उनले नेपालले भोगेको अभूतपूर्व विपत्तिबारे विश्वको ध्यानाकर्षण गराउन लागेका हुन् ।
महासभामा भाग लिन यसअघि नै ४ असोजमा परराष्ट्रमन्त्री शिशिर खनालसहितको ठोली न्युयोर्क गइसकेको छ । उनले न्युयोर्कमा विभिन्न देशका प्रतिनिधिकरुसँग भेटघाट जारी राखेका छन् ।
परराष्ट्रमन्त्री खनालले गएराति न्युयोर्कमा भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेसँग भेट गरेको उनको सचिवालयले जनाएको छ ।
भेटमा भुटानी प्रधानमन्त्रीले नेपालमा गएको भीषण बाढीप्रति दुःख व्यक्त गर्दै नेपालको दुःखमा भुटान साथमा रहेको बताएका थिए ।
यसैगरी मन्त्री खनालले यसअघि राष्ट्रसंघ मुख्यालयमा युरोपेली संघकी कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरासँग भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल–ईयू साझेदारीका विभिन्न पक्षमा छलफल भएको जनाइएको छ ।




