महासभालाई प्रधानमन्त्री बालेनको सम्बोधनः उठाए जलवायु न्यायको मुद्दा, भारत र चीनलाई धन्यवाद, सम्झिए पशुपति र बुद्ध

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले जलवायु न्यायको मुद्दा राष्ट्रसंघको सुन्दर घोषणामा मात्रै सीमित हुन नहुने भन्दै यथार्थमा बदल्न आग्रह गरेका छन् । 

झण्डै १२ मिनेट लामो सम्बोधनका क्रममा उनले गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीबाट नेपालले भोगेको क्षति तथा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् ।

उनले भोटेकोशी नदीमा आएको बाढीपछि चीन र भारतसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगप्रति धन्यवाद दिए । उनले बाढीका कारण १४ सय बढीको मृत्यु भएको र ५ हजारभन्दा बढी अझै हराइरहेको उल्लेख गरे ।

उनले बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि जीडीपीको १० प्रतिशत आवश्यक रहेको भन्दै सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन् । 

प्रधानमन्त्री शाहले भोटेकोसीको बाढीलाई ‘हिमनदी सुनामी’ को संज्ञा दिँदै त्यसबाट नेपालसँगै चीन र भारतमा समेत प्रभाव परेको भन्दै जलवायु संकटतर्फ ध्यान जानुपर्ने बताए । 

उनले हिन्दुकुश हिमालय क्षेत्र करिब २ अर्ब मानिसको जीवनसँग जोडिएको उल्लेख गर्दै हिमालय क्षेत्रको जलवायु मुद्दामा नेपाल, चीन र भारतबीच सहकार्यको प्रस्ताव समेत गरेका छन् । 

सम्बोधनको अन्त्यमा उनले पशुपतिनाथले विश्वको कल्याण गरुन भन्दै सबै बुद्धले देखाएको बाटोमा हिड्न सकोस भन्ने कामना गरे । 

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update