काठमाडाैं। बडादसैंको चौथो दिन आज दसैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
कुष्माण्डा एक संस्कृत शब्द हो । जसको अर्थ कुम्हडा अर्थात् कद्दु हो । कुष्माण्डा देवीलाई कद्दुको बलि प्रिय लाग्ने जनविश्वास छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक तीन तापलाई कुष्मा भनिन्छ ।
नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकाले यो नाम रहन गएको धार्मिक विश्वास छ । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
यो दिनमा पूजामा बस्न हरियो रंगको आसन राम्रो मानिन्छ भने देवीलाई रातो वस्त्र, रातो फूल चढाउनुपर्छ ।
ब्रम्हान्डका सबै वस्तु र प्राणीमा रहेको तेज यिनकै छाया भएको विश्वास गरिन्छ । कुष्माण्डा देवीका आठ भूजा हुने भएकाले यी देवीलाई अष्टभुजा देवीका नामले समेत चिनिन्छ ।
यिनका ७ हातमा कमण्डलु, धनुष, वाण, कमल–पुष्प, अमृतपूर्ण कलश, चक्र र गदा हुन्छ भने आठौं हातमा जपमाला हुन्छ । यी देवीको बाहन सिंह हो ।
कुष्माण्डा देवीको पूजा गरेपछि
सुरासम्पूर्ण कलशं रुधिराप्लुतमेव च ।
दधाना हस्त पद्माभ्यां कूष्माण्डा शुभदास्तु मे ।।
भन्ने मन्त्र २१ पटक जप्नुपर्छ ।
यो मन्त्रको जपले सूर्यसम्बन्धी लाभ मिल्नुका साथै परिवारमा खुसी आउने, स्वास्थ्य राम्रो हुने र आम्दानी बढ्ने जनविश्वास छ ।
नवरात्रको चौथो दिन कुष्माण्डालाई मालपुवाको प्रसाद अर्पित गर्नाले सुख–समृद्धि आउने र कन्याले रंगी बिरंगी रिबन वा वस्त्र दान गरेमा धनमा वृद्धि हुने शास्त्रीय मान्यता छ ।
कुष्माण्डाको पूजा गर्दा सच्चा मनले गर्नुपर्छ । कलशमा विराजमान देवी देवताको पूजा गरेपछि कुष्माण्डाको पूजा गर्नुपर्ने विधि रहेको छ ।
हातमा फूल राखेर माता कुष्माण्डा देवीको ध्यान गर्दै
सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च ।
दधाना हस्तपद्माभ्यां कूष्माण्डा शुभदास्तु ।
भन्ने मन्त्र जप गर्नुपर्छ ।
जीवनमा आइरहेका परेशानी र समस्याबाट छुटकारा पाउनका लागि कुष्माण्डाको
दुर्गतिनाशिनी त्वंहि दारिद्रादि विनाशिनीम् ।
जयंदा धनदां कूष्माण्डे प्रणमाम्यहम् ।।
भन्ने मन्त्र १०८ पटक जप्नाले सबै समस्याबाट छुटकारा पाउने धार्मिक मान्यता छ ।
बौद्धिक क्षमतामा वृद्धि र परीक्षामा राम्रो नतिजा ल्याउन चाहनेले
‘या देवी सर्वभूतेषु बिद्धि–रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।। भन्ने मन्त्र ५ पटक उच्चारण गर्नुपर्छ भन्ने जनविश्वास छ ।


