काठमाडौं । नेपालमा यसवर्षको मनसुन पूर्ण रुपमा बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको सम्पूर्ण भूभागबाट असोज २८ गते अर्थात् अक्टोबर १४ तारिखबाट बाहिरिएको हो ।
गत असोज १७ गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागका धेरै स्थानहरु र गण्डकी प्रदेशको पश्चिमी भू–भागका थोरै स्थानबाट यसवर्षको मनसुन बाहिरिन सुरु भएको थियो ।
नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति २ अक्टोबर भए पनि यसवर्ष १२ दिन ढिला गरी मनसुन बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको बहिर्गमन भए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहन सक्ने भएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन सम्पूर्ण सर्वसाधारणलाई जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।


