एजेन्सी। ब्रिटेनको गुप्तचर एजेन्सी एमआई–५ का प्रमुख सर केन म्याक्कलमले एउटा गम्भीर चेतावनी जारी गरेका छन् ।
उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को गलत प्रयोग गरेर आतंकवादीले ब्रिटेनलाई निशाना बनाउने षडयन्त्र गरिरहेको उल्लेख गरेका छन् ।
एआई प्रविधिले यस्ता आतंकवादी समूहका लागि ‘सुपरचार्जर’ को काम गरिरहेको छ । जसमा ड्रोन हमला र जैविक हतियारको खतरा केही गुणाले बढेको छ ।
युक्रेन युद्धमा टाढाबाट चल्ने ड्रोन प्रविधिको बढ्दो प्रयोगतर्फ संकेत गर्दै एमआई–५ ले आतंकवादी समूहले अब यसै प्रविधिको प्रयोग गरेर ब्रिटेनभित्र हमला गर्नसक्ने जनाएको हो ।
म्याक्कलमले आफूहरुले आक्रमणको पद्धतिलाई अझै आधुनिक बनाउने कोशिसमा जुटेका एक आतंकवादी लडाकूलाई पक्राउ गरेको दाबी गरेका छन् । जसमा एआई–सक्षम ड्रोनले नयाँ मोड दिइरहेको उनको भनाई छ ।
सर केनले अल कायदाजस्ता समूहले ब्रिटेनमा भाइरस अनुसन्धान र विकासमा सुरक्षाको कमी पहिचान गर्न एआईको प्रयोग गर्नसक्ने जोखिम औल्याएका छन् ।
सर केनले आतंकवादी र इरान, रुसजस्ता दुश्मन देशले नयाँ रोग फैलाउन र घातक प्याथोजन (सुक्ष्म जीव) तयार गर्नका लागि एआईको दुरुपयोग गर्नसक्ने चेतावनी दिएका हुन् ।
यद्यपि अझै पनि यो खतराले पूर्ण रुप नलिएको र गुप्तचर एजेन्सीका लागि गम्भीर चिन्ताको विषय भएको उनको भनाई छ । एआई आक्रमणमा सहयोगी मात्रै बनेको छैन, पश्चिमा देशविरुद्धको दुष्प्रचार र कट्टरपन्थी सामग्री तयार गर्नमा समेत सहयोगी बनिरहेको छ ।
वार्षिक भाषणका क्रममा सर केन म्याक्कलमले अन्य ठूला सुरक्षा जोखिमबारे समेत चर्चा गरेका थिए । उनले रुसलाई एक नम्बर आक्रामक भएको आरोप लगाउँदै ब्रिटेन र उसका सहयोगी देशमाथि दबाब बनाउनका लागि रुसले लगातार आक्रामक नीति लिएको आरोप लगाएका छन् ।
योसँगै इरान समर्थित समूहले ब्रिटेनका सैन्य अड्डालाई निशाना बनाउने कोशिस तीव्र पारेको र यसैका कारण पछिल्लो एक वर्षमा मात्रै ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको उनको भनाई छ । एमआई–५ ले चीनबाट बढेको खतराको समेत लगातार मुकाबिला गरिरहेको उनको भनाई छ ।


