Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ आज देशभरको मौसम अवस्था 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी, लुम्बिनी, कर्णालीलगायत बागमती, सुदूर–पश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको भइरहेको विभागले जनाएको छ । 

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको छ ।

सोमबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी लगायत कर्णाली प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । 

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

देशभर चिसो बढेसँगै तापक्रम गिरावट भएको छ । हाल काठमाडौंको तापक्रम न्यूनतम ७ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।चिसोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध पनि गरेको छ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update