यी हुन आजको मन्त्रिपरिषद बैठकले गरेको मुख्य ६ निर्णय

 

काठमाडौँ । असोज १३ गते बसेको मन्त्रिपरिषद बैठकले ६  वटा मुख्य निर्णय गरेको छ ।

सरकारको प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दिएको जानकारी अनुसार ती निर्णयहरुमा विकास आयोजनाहरुलाई बन क्षेत्र प्रयोग गर्न दिनेदेखि विधेयक संसदमा पेश गर्नको लागि स्वीकृति दिनेसम्मका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको बैठकको मुख्य निर्णयहरूः

१. अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने ।

२. पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कमला–ढल्केवर–पथलैया सडक खण्ड, गजार्ड खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना (४० मे.वा.) र सशस्त्र प्रहरी बल, नेपाललाई तालिम शिक्षालय, गुल्महरू तथा सिमा सुरक्षा पोष्टहरू निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने ।

३. पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक संङ्घीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने ।

४. सङ्घीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने ।

५. अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने ।

६. नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव श्री आभा श्रेष्ठ कर्णलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको प्रमुख सचिव पदमा र नेपाल इन्जिनियरिङ सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा डा। जगदीश्वर कर्माचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा पदस्थापना गर्ने ।

 

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update