काठमाडौँ । सरकारले सेयर कारोबारमा लाग्दै आएको करको सीमा घटाएको छ ।
आज (भदौ ३१ गते) बसेको मन्त्रिपरिषद बैठकले कर घटाउने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए । गत सोमबार अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना २०८३ सार्वजनिक गर्दै सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर घटाउने जानकारी दिएका थिए ।
यस्ता छन् सरकारका ६ वटा प्रमुख निर्णयहरु
१. सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने ।
२. नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट, प्राप्त लाभमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी, अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.५ प्रतिशत र ३६५ वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत अग्रिम कर कायम गर्ने ।
३. नेपाल न्याय सेवा, न्याय समूह राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरू श्री ठगीन्द्र कट्टेल, श्री रामप्रसाद भट्टराई र श्री बाबुराम दाहाललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने ।
४. साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा/क्षतिपूर्ति रकमसम्बन्धी कानूनी कारबाहीका लागि साउदी नागरिक कानून व्यवसायीलाई वारेसनामा (पावर अफ एटर्नी) दिई बीमा/क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाउने सम्बन्धी आदेश जारी गर्ने ।
५. चक्रीय राहत कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत गर्ने ।
६. नेपाल प्रशासन सेवाका सहसचिव श्री कालीप्रसाद पराजुलीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने ।




