आजको मन्त्रिपरिषदः विनोद कुवँर र उत्तर खत्री सचिवमा बढुवा, यस्ता छन् ७ मुख्य निर्णय

 

काठमाडौँ । सरकारले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सहसचिव विनोद कुवँर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सचिवमा बढुवा भएका कुवँरलाई लुम्बिनी प्रदेशको प्रमुख सचिव बनाइएको छ भने खत्रीलाई सुदुरपश्चिम प्रदेशको प्रमुख सचिव बनाइएको छ ।

यस्ता छन् प्रमुख ७ निर्णय

१. संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा २०८३ असोज ६ देखि १० गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यूको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने ।

२. भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत अन्तरसरकारी उपसमिति (आइजीएससी) को बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने । 

३. अनुचित लेनदेन (मिटर ब्याज) अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।

४. काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कूल २७ स्थानीय तहहरूका १७,४३८ गरिब घर परिवारको सूची स्वीकृत गर्ने।

५. शिक्षक सेवा आयोगको अध्यक्षमा डा। हरि प्रसाद लम्साल, भक्तपुर र सदस्यमा श्री रामशरण सापकोटा, मकवानपुर एवं महिला सदस्यमा श्री विष्णु घिमिरे रिमाल, काठमाडौँलाई नियुक्ति गर्ने।

६. सहसचिव श्री विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने।

७. सहसचिव श्री उत्तर कुमार खत्रीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूर पश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने।

 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update