काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा शुसासन समितिले संघीय निजामति सेवा विधेयकको विषयमा मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकहरुसंग छलफल गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताका अनुसार सांसदहरुले विधेयमाथि हालेको संशोधन प्रस्तावलाइृ दलीय रुपमा एउटै डालोमा हालेर छलफल गराउने प्रयोजनका लागि दलका प्रमुखसचेतक र सचेतकहरुसँग छलफल गरिएको हो ।
सरकारले संसदको पुस अन्तिम या माघ पहिलो साताबाट सुरु हुने अधिवेशनबाटै यो विधेयक पारित गराउने तयारीका साथ समितिमा विधेयकमाथि छलफल गराइरहेको छ ।
संघीय निजामती सेवा विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफल जारी छ । विधेयकका सम्बन्धमा १ हजार ५८३ वटा संशोधन प्रस्ताव परेका छन् । विधेयकको प्रस्तावना संशोधन गर्नको लागि मात्रै ४६ जना सांसदको ३२ वटा संशोधन प्रस्ताव परेका छन् । यी प्रस्ताव विधेयकको प्रस्तावना संशोधन गर्नका लागि पेश भएका हुन् ।