आज राति धेरै उल्का वर्षा हुने, सफा आकाशमा हेर्न सकिने

काठमाडौँ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले शुक्रबार अत्यधिक उल्का वर्षा हुने जनाएको छ । यही पुस १३ गतेदेखि भइरहेको उल्का वर्षा अन्य दिनको तुलनामा शुक्रबार राति धेरै हुने नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । 

उनका अनुसार उल्का वर्षा यही पुस २८ गतेसम्म रहनेछ । शुक्रबार राति हुने उल्का वर्षा खुला र सफा आकाशमा हेर्न सकिनेछ ।

‘आज राति उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिनेछ । उल्का वर्षा हेर्न कुनै उपकरण आवश्यक पर्दैन,’ अध्यक्ष भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बुटिज (भूतक) नामक तारामण्डल स्रोत भएर उल्का वर्षा हुने भएकाले यसलाई भूतक नाम दिइएको नासोको भनाइ छ । 

विज्ञप्तिको पूर्णपाठ

मितिः २०८०/०९/१८

भूतप उल्का वर्षा

सन् २०२४ को पहिलो उल्का वर्षा जनवरी ०४–०५ (पुस १९–२०, २०८०) का रातमा अत्याधिक मात्रामा हुनेछ । ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ ।

भूतप उल्का वर्षा स्थानीय समय अनुसार पुस १९ गते दिउँसै देखि अत्याधिक मात्रामा सक्रिय भए पनि राति ११ः३० बजे देखि भोलिपल्ट अर्थात् विहान पुस २० गतेको सुर्याेदय भन्दा अगाडि हेर्न सकिनेछ। अत्याधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरुले मनोरञ्जन लिन सक्नेछन्। अत्याधिक उल्का वर्षाको समयमा प्रति घण्टा ५० देखि १२० वटा सम्म उल्का वर्षा हुने अनुमान गरिएको छ । ती आगोका झिल्का जस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० कि.मि माथि वायुमण्डलमा देखिनेछन् ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई हामी उल्का वर्षा भन्दछौं । उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको वा तारा पोइल गएको पनि भनिन्छ । धन्यवाद,

सुरेश भट्टराई

अध्यक्ष
 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update