
काठमाडौँ । झापाको हल्दिबारी गाउँपालिकाले ६ वर्षको प्रयासपछि स्थानीय काठेपुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ । २०७५ सालमा गाउँपालिकाले ‘काठेपुल मुक्त अभियान’ सुरु गरेको थियो ।
अभियानले सफलता पाएसँगै हल्दिबारीका सबै पुलपुलेसा पक्की बनेका हुन् । पालिकाका भौतिक पूर्वाधार तथा नापी शाखाका प्रमुख इन्जिनियर संकल्प खनालले २०७५ सालयता १०० वटा पक्की पुल निर्माण भएको बताए । उनले भुतेनी र भुसुडी खोलाको पुल निर्माण अन्तिम चरणमा पुगिसकेको जनाउँदै अरु खोला खोल्साको पुल सञ्चालनमा आइसकेको बताए ।
गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले हल्दिबारीमा ज्यानको जोखिम मोलेर काठको पुल तर्नुपर्ने बर्षौदेखिको बाध्यता हटेको बताए । उनले पुल पार गर्दा काठ भाँचिएला कि भन्ने डर हुने र बाढीले बगाउला कि भन्ने त्रास बोक्नुपर्ने अवस्था सकिएको दाबी गरे । अध्यक्ष लिङ्देनले नै ‘काठेपुल मुक्त अभियान’ घोषणा गरेका थिए ।
पाँच वटा वडा रहेको हल्दिबारीमा ३३ हजार जनसंख्या छ । सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य सुविधाका लागि पालिकाले उच्च प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आएको अध्यक्ष लिङ्देन बताउँछन् ।
१०० वटा पक्की पुल निर्माण गर्न १० करोड रुपैयाँ खर्च भएको भौतिक पूर्वाधार तथा नापी शाखाले जनाएको छ । पालिकाले पुल र सडक निर्माणमा आन्तरिक स्रोतको परिचालन गर्दै आएको जनाएको छ । बिगत ६ वर्षमा हल्दिबारीमा आन्तरिक स्रोतबाटै ३५ किमी सडक कालोपत्रे भइसकेको छ भने पाँच किमी कालोपत्रे निर्माणको चरणमा छ ।