Odapalika - The Fourth Estate - चौथो अंग
पलाँता गाउँपालिकामा ट्र्याक्टर दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु 

काठमाडौँ । कालीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा ४  जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९ थिर्पुबाट पलाँता–४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर पलाँता–२ बुडाडाँडा नजिक गएराति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले कालीकोटले जनाएको छ ।

दुर्घटना मृत्युहुनेमा चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका  २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोट, पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र पलाँता–५ सल्लीकोटकी २५ वर्षीया अम्बा शाही छन् ।  उनीहरुको घटनास्थलमै मृत्यु भएको सो कार्यालयका  प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार दुर्घटनाग्रस्त ट्र्याक्टर सडकभन्दा तल अप्ठेरो भिरमा अड्किएको छ । शवहरु भने सडकभन्दा करिब २०० मिटर तल भेटिएको थियो । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थिर्पुबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको कमान्डमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो  ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update