
काठमाडौँ । कीर्तिपुर नगरपालिकालाई ३–० गोलले पराजित गर्दै काठमाडौँ महानगरपालिकाको फुटबल टीम ‘उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को फाइनलमा प्रवेश गरेको छ ।
गोदावरी नगरपालिकाको चापागाउँ, ताहाखेल खेल मैदानमा बुधबार भएको खेलमा महानगरपालिका लागि राजकुमार पौडेलले पहिलो गोल र त्यसपछि मनिष सेढाईँले लगातार २ गोल गरे । महानगरपालिका ‘समूह बी’बाट र कीर्तिपुर ‘समूह डी’बाट सेमिफाइनल खेलमा पुगेका थिए ।
सेमिफाइनलको अर्को खेल आज ‘समूह ए’ र ‘समूह सी’ का विजेताहरु आयोजक गोदावरी नगरपालिका र काठमाडौँको दक्षिणकाली नगरपालिकाबीच हुनेछ ।
भोलि आयोजक गोदावरी र काठमाडौँको दक्षिणकाली नगरपालिकाबिच सेमिफाइनल खेल हुँदैछ । यस खेलका विजेता टीम र काठमाडौँ महानगरपालिकाको टीमबीच शुक्रबार फाइनल खेल हुने तालिका छ ।
गोदावरी उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल २०८२ खेलअन्तर्गत महानगरपालिकाको पहिलो खेल चाँगुनारायण नगरपालिकासँग भएको थियो । यस खेलमा चाँगुनारायणलाई महानगरपालिकाले ५–० गोलले पराजित गरेको थियो । यस खेलमा राजकुमार पौडेल, विराज महर्जन, अखिलेश कार्की, सरोज तामाङ् र मनिष सेढाईँले महानगरपालिकाका लागि १÷१ गोल गरे ।
समूह बि मा रहेको महानगरपालिकाले दोस्रो खेल मध्यपुर थिमीसँग खेलेको थियो । यस खेलमा सरोज तामाङ्ले १ गोल गरे । महानगरपालिकाबाट प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका छन् ।
प्रतियोगितामा काठमाडौँ जिल्लाबाट काठमाडौँ महानगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपािलका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका गरी ६ वटा स्थानीय तह प्रतिस्पर्धामा छन् । यस्तै ललितपुर जिल्लाबाट ललितपुर महानगरपालिका, आयोजक गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकासहित ५ वटा स्थानीय तह छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिकाले भाग लिएका छन् ।
प्रतियोगिताको बिजेता टिमलाई नगद ५ लाख रुपैयाँसहित ट्रफी, उपविजेता टिमलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।