Odapalika - The Fourth Estate - चौथो अंग
१० स्थानीय तह भिड्न लागेको कराँतेको यस्तो छ सेड्युल 

भक्तपुर । वागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते अर्को सातादेखि शुरू हुने भएको छ । सूर्यविनायक नगर सितोरियो कराँते संघको आयोजनामा जेठ ९ र १० गते वागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगिताको खेलहरू जगातीस्थित शेराटन ब्याङ्केट सूर्यविनायक नगरपालिका–९ मा नै हुने भएको छ । 

प्रतियोगितामा १० स्थानीय तहका टोली भक्तपुर, मध्यपुर, चाँगुनारायण, सूर्यविनायक, बूढानीलकण्ठ, पनौती, बनेपा, चन्द्रागिरी, काठमाडौं र गोदावरी नगरपालिकाहरूका खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । 

कुमुतेतर्फ पुरुषमा सात र महिलामा ६ तौल समूहमा प्रतिष्पर्धा हुनेछ । महिला कुमुतेतर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी र काता विधामा सात वटा छुट्टाछुट्टै प्रतिष्पर्धा हुनेछ । पुरुष कुमुतेतर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी र कातामा गरी आठ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुनेछ । 

कराँते खेलको माध्यमबाट युवा पुस्तामा अनुशासन, आत्मवल, आत्मविश्वास, नेतृत्व र राष्ट्रिय गौरवका भावना उत्पन्न गर्न अभिप्रेरित गर्दै यो प्रतियोगिता आयोजना गरेको आयोजकको भनाइ छ ।

भक्तपुर जिल्लाको सितोरियो कराँतेले विगतमा अन्तर्राष्ट्रिय गौरव प्राप्त गरिसकेको इतिहास पनि यस अवसरमा स्मरणीय छ । आठौं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा अनजु हाछेथु र बिना सुवालले स्वर्ण पदक जितेर देश र जिल्लाको नाम उच्च भयो । दशौं सागमा रामशरण त्वाटी र सुलोचना सिजाख्खाले पनि स्वर्ण पदक प्राप्त गरेका थिए । १३ औं सागमा त मन्दे काजी श्रेष्ठले दोहोरो स्वर्ण पदकको ऐतिहासिक सफलता दिलाएका थिए । 

हरेक तौल समूहका शिर्ष तीन खेलाडीले स्वर्ण, रजत र कांस्य पदक पाउनेछन् । समग्रमा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई विशेष सम्मान स्वरूप ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । कातातर्फ पनि उत्कृष्ट प्रदर्शनका लागि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताको संयोजक रामशरण त्वातीले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update