Odapalika - The Fourth Estate - चौथो अंग
प्रमुख प्रशासकीय अधिकृतले सोधे काठमाडौँ महानगर प्रहरी प्रमुखलाई स्पष्टिकरण 

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरीका निमित्त प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । 

आफुलाई कार्यालयमा प्रवेश गर्न नदिएको लामो समयपछि गुरागाइँले उनलाई स्पष्टिकरण सोधेका हुन् । पाण्डेलाई ७ दिनभित्र स्पष्टीकरणको जवाफ दिन भनिएको छ । पाण्डेले आज पत्र बुझेका छन् ।

गत २१ चैतमा महानगर कर्मचारी र जनप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गर्न खोज्दा पाण्डेको नेतृत्वको प्रहरी टिमले अवरोध गरेको थियो । उनले मेयरको आदेश भन्दै कार्यालय प्रवेशमा रोक लगाएका थिए । 

तर उपप्रमुख सुनिता डंगोललगायतको सहयोगमा उनले सो दिन हाजिर गरेका थिए । त्यसयता निरन्तर कार्यालय गइरहेका गुरागाइँले पाण्डेलाई नगर प्रहरी परिचालन ऐनविपरितको कार्य गरेको भन्दै स्पष्टिकरण सोधेका हुन् । 

काठमाडौँ महानगरपालिकाको नगर प्रहरी ऐनमा प्रमुख प्रशासकीय अधिकृतले नगरप्रहरीको परिचालन र नियनत्रण गर्ने उल्लेख छ । पाण्डेले ऐन विपरित परिचालन गर्ने अधिकारीलाई नै कार्यालयमा प्रवेशमा रोक लगाएको विषयलाई चेन अफ कमाण्डसँग जोडेर स्पष्टिकरण सोधिएको हो । 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update