
काठमाडौँ । सरकारले कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ वटा वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
गत वर्षको बाढीले महाकाली नदीमा भत्किएको बाँध निर्माणमा ढिलाइ भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले महाकाली पुल, पुलको पहुँच मार्ग र आसपासका बस्तीमा जोखिम रहेको भन्दै ती क्षेत्र संकटग्रस्त घोषणा गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस बमोजिम मन्त्रिपरिषद्को बैठकले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ३, ८, ९ र १० लाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
भीमदत्र् नगरपालिका वडा १२ का वडाध्यक्ष भूपेन्द्रसिंह रावलले विपद् संकटग्रस्त क्षेत्र घोषणापछि नेपाली सेनाले काम गर्ने जानकारी पाएको बताए ।
यो क्षेत्र बाढीको धेरै जोखिममा छ । स्थानीयले बाँध निर्माणका लागि पटकपटक आन्दोलन गरेका छन् । गत वर्ष भदौमा महाकाली नदीमा आएको बाढीले महाकाली नदीमा बनेको चार लेनको पुलसँगै निर्माण भइरहेको पोखरीको बाँध भत्काएको थियो ।
महाकाली नदीमा निर्माण भएको आठ सय मिटर पुलको दुवैतर्फ दुई हजार सात सय मिटर लम्बाइ र छ सय मिटर चौडाइका पोखरी निर्माणाधीन छन् । पक्की पुल, पहुँच मार्ग र गाइडबन्डलगायतको गरी ९५ प्रतिशत काम भइसकेको छ । अब दुई सय मिटर पहुँचमार्ग कालोपत्र सँगै गाइडबण्डको काम मात्रै बाँकी छ । ३ अर्ब २७ करोडमा कुमार श्रेष्ठ सीएफइसी जेभीसँग निर्मााण्का लागि सम्झौता भएको थियो ।