
ललितपुर । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्नुपर्ने बताएका छन् ।
एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख तथा उपप्रमुखसहित अन्य राजनीतिक पार्टीसँग समेत समन्वय गरेर आमजनताको विश्वास जित्ने गरी काम गर्न आग्रह गरे ।
‘तपाईँहरू पार्टीबाट निर्वाचित भएर जिम्मेवारीमा गएको हो । निर्वाचन जितेपछि चङ्गाको धागो काटिएजस्तो पार्टीसँगको सम्पर्क काटिनु हुँदैन । मैले जितेँ, मलाई अरु मतलव छैन भन्न मिल्दैन । अर्को निर्वाचन पनि आउँछ । त्यसकारण तपाईँहरूले अहिले पार्टीका नीति तथा निर्देशनलाई पालना गर्दै देश र जनताको सेवामा सक्रिय रहनुपर्छ’ ओलीले भने, ‘एमाले वास्तविक जनतन्त्रका लागि बनेको हो । देशको स्वाधीनता र भौगोलिक अखण्डताका पक्षमा दृढ भएर लाग्ने पार्टी हो । एमाले देशको नायक पार्टी हो । तथाकथित केही वामपन्थीहरू एमालेलाई धुलो चटाउँछु, टर्च लाइट बालेर खोज्न नभेटिने बनाउँछु भनेर अनेक षड्यन्त्रमा उत्रिए तर हामीले ती षड्यन्त्रहरू चकनाचुर बनाएर अगाडि बढेका छौँ ।’
प्रधानमन्त्री ओलीले आफूहरूले कम्युनिष्ट भनेर पार्टी एकता गरेपछि लगभग दुईतिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको टिप्पणी गर्दै देशलाई बनाउन नदिने देशी–विदेशीहरूको एमालेमाथिको आक्रमण देशकै विरुद्धको आक्रमण भएो बताए । ।
‘उनीहरू खासमा कम्युनिष्ट थिएनन् । उनीहरूले अरुको विरोध नगरी एमालेको मात्रै विरोध गर्छन् । अनि वामपन्थीबीच एकता हुनुपर्छ भनेर उनीहरूले भन्दा हाम्रा कतिपय साथीहरू हो कि भन्ने गलत बुझाइमा पर्छन् । कम्बोडियामा मेरो ३२ अरब लगानी छ भनेर हल्ला फिँजाउने व्यक्ति ‘प्रचण्ड’ हुन् । त्यसको पछि लाग्नेहरू माधव नेपाल र झलनाथ खनालहरू हुन् ।’
राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्वहरू सल्बलाउँदा एमालेहरूको मनोवल गिर्न नहुने उल्लेख गर्दै लाज नमानीकन जनतालाई रैती हुन पाऊँ भन्नेहरूले फैलाउने भ्रम चिर्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।
अहिले भ्रष्टाचारीहरू र सहकारीपीडितले नै ‘भ्रष्टाचारको विरोध र सहकारीलाई न्याय दे’ भन्नेजस्ता आवाज उठाएर जनतामा भ्रम छरेको पनि अध्यक्ष ओलीको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र)ले २०६४ सालमा आफ्ना लडाकु क्याम्पमा राखेर र मार्चपास गराएर जनतालाई तर्साएर आतङ्कको राज गरेकाले त्यसबेला आफूहरू पराजित भए पनि माओवादीले २०६४ सालको जस्तो परिणाम ल्याउने सपना देख्नुमा कुनै दम नभएको बताए । दुईदिने सो प्रशिक्षण कार्यक्रममा एमालेबाट निर्वाचित बागमती प्रदेशका ३५९ जना वडाध्यक्षको सहभागिता रहेको छ ।