
काठमाडौँ । सरकारले स्थानीय प्रशासन ऐनको आडमा संविधान प्रवद्ध नागकिरको मौलिक हक कुण्ठित हुनेगरी काठमाडौँ रिङरोडभित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाको शान्तिसुरक्षा तथा सार्वजनिक सेवालाई ध्यानमा राखेर तोकिएको ठाउँमा बाहेक अन्य क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन जस्ता कार्यक्रम गर्न नपाउने गरी आदेश जारी गरेको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेक अन्य क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन जस्ता कार्यक्रम गर्न निषेध गरिएको सूचना जारी गरेका छन् ।
काठमाडौँ प्रशासनले जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला या जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासो समेतलाई दृष्टिगत गर्दै उक्त आदेश जारी गरेको भनेको छ ।
यो निषेधाज्ञा राप्रपा र राजावादीहरुको आन्दोलनलाई लक्षित गरेर गरिएको हो । संविधानमा हातहतियारबिना घुम्न पाउने, प्रदर्शन गर्न, फरक मत राख्न पाउने व्यवस्था गरेको भए पनि स्थानीय प्रशासन ऐनको निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गर्न सकिने व्यवस्थाको दुरुपयोग सरकारले गरेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेश दुई महिनासम्म कायम रहने जनाइएको छ ।