
काठमाडौँ । नवलपुरको कावासोती नगरपालिकाका भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको छ । वडा नं ४ का २५ परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
लामो सयमदेखि बसोबास गर्दै आएको जग्गाको लालपुर्जा आफ्नो नाममा प्राप्त भएपछि खुसी लागेको स्थानीयको भनाइ छ ।
पुर्जा प्राप्त गरेपछि स्थानीय बासिन्दाहरूले पञ्चैबाजा बजाएर उत्सव मनाए । नगरपालिकाभित्र भूमिहीन दलित ६०७, भूमिहीन सुकुम्वासी १ हजार २४० र अव्यवस्थित बसोबासी ५ हजार ५०६ जनाले फारम भरेको प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले जानकारी दिए ।
पालिकाले आफ्नो स्तरबाट पुर्जा वितरणका लागि काम अगाडि बढाएको र पूर्जा वितरणको काम वडा नं ४ बाट सुरु गरिएको हो । मेयर विष्णुप्रसाद भुसालका अनुसार वडा नं ४ बाट सुरु गरिएको अभियान भूमि समस्या समाधान आयोगसँग समन्वय गरेर क्रमशः अन्य वडामा पनि अगाडि बढाइने छ ।
भूमि समस्या समाधान आयोगले पहिलोपटक लालपुर्जा वितरण सुरु गरेको हो । यसअघि गठन गरिएको आयोगले जिल्लामा करिब ३०० लालपुर्जा वितरण गरिसकेको आयोगका विज्ञ सदस्य होमनाथ जैसीले जानकारी दिए ।
जिल्लाका ८ वटा स्थानीय तहमध्ये अधिकांशमा जग्गा नापीको काम सकिएकोले क्रमशः स्थानीय तहको समन्वयमा पुर्जा वितरण अघि बढाउने आयोगको तयारी छ ।
वडा नं ४ का अध्यक्ष नारायणप्रसाद लोहनीले वडामा बसोबास गरिरहेका भूमिहीनलाई जग्गाको मालिक बनाउने कार्यमा सहजीकरण गर्न पाउँदा धेरै खुसी लागेको बताएका छन् ।