
काठमाडौँ । सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिृकत लालवावु प्रसाद साह, पूर्वअध्यक्ष विक्रम यादवसहित १० जनाविरद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुले सौर्य बत्ती जडान योजनामा पाकिलाका ९ वटा वडामा जडान गरेको भनेर साढे २ करोड रुपैयाँ भन्दा बढी अनियमितता गरेको अख्तियारको दाबी छ ।
उनीहरुसँगै बत्ती जडानमा संलग्न कम्पनीहरु स्काई राइज ट्रेडिङ कन्सर्न, एसके स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल विरुद्ध पनि भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७८–०७९ मा गाउँपालिकाबाट सौर्य बत्ती जडान कार्यक्रमका लागि छुट्याएको बजेट टुक्रा टुक्रा पारेर खरिद गरेको कार्यक्रमा अनियमितता गरेको भेटिएको आयोगको दाबी छ । यो काममा तात्कालीन गाउँपालिका अध्यक्ष यादव, तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृतसाह, लेखा अधिकृत शिवशंकरप्रसाद कुशवाहा, सहायक पाचौँ (लेखापाल) संजयकुमार ठाकुर, सहायक पाचौँ एवम जिन्सी शाखा प्रमुख रामकैलाश राययादव, सब–ईन्जिनियर सन्तोष राय र राजु रायका विरुद्ध मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध जनही २ करोड ४९ लाख ४० हजार ११० रुपैयाँको बिगो र सोही वरावरको जरिमाना माग गरिएको छ ।