Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारको पहलः धवलागिरिमा मौरीका घार, अन्नपूर्णमा पानीका धारा

काठमाडौँ । म्याग्दीको धवलागिरि गाउँपालिकाका किसानलाई मौरीसहितको घार वितरण गरिएको छ । किसानलाई व्यावसायिक मौरीपालनमा आकर्षित गर्ने उद्देश्यले ५) प्रतिशत अनुदानमा १०० वटा मौरीसहितका घार वितरण गरेको हो । 

गाउँपालिकाको कृषि शाखाका प्राविधिक अमृत थापाले वडा नं  ७ ताकममा ४७ वटा र वडा नं ५ मल्कवाङमा ८ वटा मौरीघार वितरण गरिसकेको, वडा नं २ लुलाङ, वडा नं ३ मुना र वडा नं ४ मुदीमा थप ४५ वटा वितरणको तयारगरेको बताए ।

धवलागिरि गाउँपालिका–७ हिलापोखरीको हातेमालो कृषक समूहलाई १४ वटा र अन्य ठाउँका कृषकलाई एकवटाका दरले मौरीघार वितरण गरिएको छ । 

एउटा मौरीघार ९ हजार रुपैयाँका दरले खरिद भएको थियो । किसानले ४ हजार ५०० हालेका छन् भने बाँकी पालिकाले तिरेको छ ।  मौरी पकेट क्षेत्रमा आहराका लागि तोरीखेती गर्न किसानलाई प्रोत्साहन गर्ने गाउँपालिकाको योजना छ । उच्च पहाडी र प्रशस्त वनजङ्गल भएकाले धवलागिरिमा मौरीपालनको सम्भावना रहेको अध्यक्ष पुनको भनाइ छ । 

उता म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार भएको छ । लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एक विद्यालय र दुई सामुदायिक भवनमा शुद्ध खानेपानीको पहुँच विस्तार गरिएको हो ।  

लेक गाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै सबै घरमा शुद्ध खानेपानीको सुविधा पुगेको छ । गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोग र समुदायको श्रमदानबाट लेकगाउँमा खानेपानी आयोजना निर्माण भएको हो ।  आयोजनाले स्थानीय क्रान्ति आधारभूत विद्यालयमा खानेपानीको धारासँगै अपाङ्गमैत्री शौचालय निर्माण गरिदिएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १४:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update