
भक्तपुर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ४७ करोड ३१ लाख ११ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाले चालु खर्चतर्फ १ अर्ब ५२ करोड ५३ लाख ११ हजार (६१.६७ प्रतिशत), पुँजीगत खर्चतर्फ ८० करोड ४८ लाख रुपैयाँ (३२.५४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १४ करोड ३० लाख रुपैयाँ (५.७८ प्रतिशत) विनियोजन गरेको छ ।
नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय प्रस्तुत गर्दै भक्तपुर नगरपालिकाले शैक्षिक विकासलाई मुख्य प्राथमिकतामा राखेको बताइन् ।
नगरपालिकाले शिक्षाका लागि ५४ करोड ४ लाख ६३ हजार रुपैयँ बजेट छुट्याएको छ । यो कुल बजेटको २१.८५ प्रतिशत हो ।
ख्वप अस्पताललाई आधुनिक सुविधासम्पन्न तथा स्तरीय बनाउन ५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । रात्रिकालीन बत्ती व्यवस्थाका लागि १ करोड, सम्पदा पुनः निर्माण तथा संस्कृति संरक्षणमा १२ करोड ६८ लाख ५० हजार विनियोजन भएको छ ।