
काठमाडाैँ । सवारी निर्माता कम्पनी बीवाईडीले १ करोड ३० लाख युनिट सवारीसाधन उत्पादन गरेर एक महत्त्वपूर्ण कोसेढुंगा (माइलस्टोन) हासिल गरेको छ । उक्त कोसेढुंगा हासिल गरेको अवसरमा कम्पनीले भव्य उत्सव मनाएको छ ।
चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा माइलस्टोन मोडलको रुपमा याङवाङ यु७ लाई कम्पनीले १ करोड ३० लाखौँ सवारीको रूपमा सार्वजनिक गरेर उत्सव मनाएको हो ।
सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा बीवाईडीको बिक्री लगातार रूपमा बढिरहेको छ । गत जनवरीदेखि जूनसम्मको अवधिमा बीवाईडीको घरेलु बिक्रीमा गत वर्षको यही अवधिको तुलनामा ३१.५ प्रतिशत वृद्धि भई २१ लाख १३ हजार युनिट पुगेको छ । त्यसैगरी, यही अवधिमा अन्तर्राष्ट्रिय बिक्री १२८.५ प्रतिशत वृद्धि भई ४ लाख ७२ हजार युनिट पुगेको छ ।
यही उत्कृष्ट बजार प्रदर्शनका कारण ग्लोबल न्यु इनर्जी भेइकल बिक्रीमा बीवाईडी पहिलो स्थानमा रहन सफल भएको छ र १ करोड ३० लाख न्यु इनर्जी भेइकल सार्वजनिक गर्ने विश्वकै पहिलो सवारी निर्माता कम्पनीसमेत बनेर यो उद्योगमै एक महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
प्रोडक्सन लाइनमा १ करोड ३० लाखौँ सवारीको रूपमा न्यु इनर्जी भेइकल सार्वजनिक गरेको छ र यसले बीवाईडीले घरेलु र अन्तर्राष्ट्रिय दुवै बजार र प्रयोगकर्ताहरूको आशा र विश्वासलाई प्रतिविम्बित गरेको छ । याङवाङ १० हजार युनिट बिक्री पार गर्ने चीनको पहिलो अल्ट्रा–लक्जरी अटोमोटिभ ब्रान्डको रूपमा परिचित छ र उच्च–गुणस्तरीय उपभोक्ता बजारमा यसले प्राविधिक निपुणता र ब्रान्ड भ्याल्युका लागि छुट्टै पहिचान कायम गरेको छ ।
याङवाङले प्राप्त गरेका निरन्तर उपलब्धिहरूले केवल उच्च–स्तरीय अटोमोबाइल क्षेत्रमा चिनियाँ ब्रान्डहरूको ऐतिहासिक फड्को मात्र जनाउँदैन । यसले न्यु इनर्जीको युगमा चिनियाँ अटोमोबाइल निर्माता कम्पनीहरूको प्रवल प्रतिस्पर्धात्मक क्षमता र औद्योगिक आत्मविश्वासलाई पनि प्रमाणित गरेको छ ।