Odapalika - The Fourth Estate - चौथो अंग
भारत तस्करी गर्न लागिएको ५०० कार्टुन मदिरा प्रहरी नियन्त्रणमा, रातभर यसरी खटिएका थिए एसपी केसी

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सप्तरीले नेपालबाट भारततिर तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गोतम केसी आफै खटिएको प्रहरी टोलीले सीमापार तस्करीको मदिरा र तस्करीको लागि प्रयोग गर्न लागिएको साइकल नियन्त्रणमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार नेपालका सिमावर्ती बजारहरुबाट मदिरा संकलन गरी भारत तस्करी गर्ने गरिएको छ । यसरी तस्करी गर्न राखिएको ५०० कार्टुन मदिरा प्रहरीले बरामद गरेको हो ।

कसरी हुन्थ्यो तस्करी ?

स्रोतका अनुसार सीमापार तस्करी गर्ने समुहले नेपालका विभिन्न बजारबाट मदिरा संकलन गरेर नजिकै गोदाममा राख्ने गरेको थियो । यसरी गोदाममा संकलन भएको मदिरा भारतीय सीमा नजिक अर्काे गोदाममा स्टोर गरिन्थ्यो । 

दशगजा क्षेत्रमा बाँसको अस्थायी गोदाम बनाएर मदिरा तस्करी गर्ने गरिएको प्रहरीले फेला पारेको हो । नेपाल प्रहरीको टोली सो क्षेत्रमा पुग्दा तस्करहरुको भागाभाग भएको थियो ।

‘सो क्षेत्रबाट ठूलो परिमाणमा मदिरा तस्करी भइरहेको भन्ने सुचना प्राप्त भएको थियो । रातिको समय थियो । प्रहरी टोली त्यहाँ पुग्दा मान्छेहरुको भागाभाग भयो । कोही साइकल र कोही मोटरसाइकल चढेर भागे । त्यसै क्रममा प्रहरीले ३५ थान साइकल र केही थान मोटरसाइकल नियन्त्रणमा लियो,’ स्रोतले भन्यो ।

raksi-baramad1-1753766640.jpg
 

तस्करी गर्ने अन्तिम समयमा भने जम्मा भएको मदिरा दशगजा क्षेत्रमै गोदाममा राख्ने गरिएको प्रहरी स्रोतको भनाइ छ । नेपालबाट भारतीय बजारमा मदिरा तस्करी गर्नको लागि साइकल र केही मोटरसाइकल पनि प्रयोग गर्ने गरिएको छ । 

प्रहरीले आज रातभर गरेको अप्रेसनमा ५ सय कार्टुन विभिन्न ब्राण्डका मदिरा बरामद गरिएको छ । एसपी गौतम केसीको नेतृत्वमा रहेको सो टोलीले तस्करीमा संलग्न ३५ वटा साइकल र केही मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update