
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएको छ।
आज (बुधबार) बसेको पार्टीको राष्ट्रिय भेलाको बैठकले श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।
अध्यक्ष श्रेष्ठलाई सोधिएको स्पष्टिकरण चित्तबुझ्दो नभएपनि अध्यक्षबाट हटाउने सर्वसम्मत निर्णय भएको पार्टी अनुशासन आयोगका अध्यक्ष रामलाल डगौरा थारूले जानकारी दिए। अध्यक्ष श्रेष्ठलाई २४ घण्टे स्पष्टिकरण सोधिएको थियो ।
अध्यक्षबाट हटाइएकी श्रेष्ठ पोखराको लिची बगैंचा जग्गा प्रकरणमा मुछिएकी थिइन्। उनको अडिओसमेत सार्वजनिक भएको थियो। त्यहीबारे पार्टी अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो।
उनले जबाफ दिइनन्। बरू वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेर हिँडेको भन्दै पार्टीमा असन्तुष्टि चुलिएको थियो। संरक्षक रेशम चौधरीले त्यसरी कार्यवाहक तोक्ने व्यवस्था विधानमा नरहेको भन्दै आपत्ति जनाएका थिए।
अब भोलि बस्ने बैठकले नयाँ अध्यक्ष तोक्ने डगौराले बताए।