
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्लाका जिल्ला समन्वय समितिहरुको भूमिका बढाउन विशेष बजेट उपलब्ध गराएर नयाँ कार्यक्रम नै सिर्जना गरिदिएको छ ।
मन्त्रालयले चालु आर्थिक वर्षको बजेट मार्फत कार्यक्रम खर्च (वार्षिक प्रगति समीक्षा तथा स्थानी यतहको अनुभव आदान प्रदानसहित) मा जिल्लास्तरमा स्थानीय तहको सिकाइ उपलब्धी तथा असल अभ्यास आदान प्रदान कार्यक्रम नै संचालन गर्ने गरी बजेट विनियोजन गरेको थियो ।
जिल्ला समन्वय समितिको भूमिका थप प्रभावकारी बनाउन मन्त्रालयले समितिलाई स्थानीय तहका असल अभ्यासका बारेमा अनुभवन आदान प्रदान कार्यक्रम भदौ मसान्तभित्र गरिसक्न भनेको हो ।
‘तहाँ जिल्लास्थित स्थानीय तहको असल अभ्यास तथा अनुभव आदान प्रदान कार्यक्रम सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको अनिवार्य सहभागिता हुने गरी कार्यक्रम आयोजनाको जानकारी यस मन्त्रालयलाई दिई २०८२ भाद्र मसान्तभित्र सम्पन्न गर्नुहुन अनुरोध छ,’ मन्त्रालयले जिल्ला समन्वय समितिहरुलाई लेखेको पत्रमा उल्लेख छ ।
मन्त्रालयले जिल्लास्तरमा कार्यक्रम सम्पन्न भएपछि प्रदेशस्तरमा पनि सोही प्रकारको कार्यक्रम संचालन गर्ने भनेको छ । जिल्लास्तरमा कार्यक्रम गर्न अहिले नै बजेट दिइएको र प्रदेशस्तरमा कार्यक्रम गर्नको लागि बजेटको प्रबन्ध पछि गरिने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले प्रदेशस्तरका यस्तो कार्यक्रम चालु आर्थिक वर्षको दोस्रो त्रैमास (असोजपछि) गर्ने पनि जानकारी दिएको छ । कार्यक्रममा ७७ वतै जिल्ला समन्वय समिति र ७५३ वतै स्थानीय तहबाट संकलन गरिने तथ्यांक लगायतका विवरणमा एकरुपता कायम गर्न सहज हुने मन्त्रालयको भनाइ छ ।