
काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा जाजरकोटको कुशे गाउँपालिकाका कम्तीमा १३ जना बेपत्ता भएको आशंका गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बिहीबार एक विज्ञप्तिमार्फत कुशे गाउँपालिका–२ का १३ जनाभन्दा बढी सम्पर्कमा नरहेको जानकारी दिएका छन् ।
उनका अनुसार, अन्य वडाका केही व्यक्ति पनि सम्पर्कमा नआएको जानकारी आएको छ ।
अध्यक्ष बस्नेतले हराएका उनीहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिदिन आग्रह गरेका छन् ।
उनले विज्ञप्तिमार्फत प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
उत्तराखण्डको उत्तरकाशीमा गत मंगलबार एक्कासि बाढी आएको थियो । बाढीका कारण अझै कम्तीमा ५० जना बेपत्ता रहेको भारतीय सेनाले जनाएको छ । बिहीबारसम्म ७० जनाको उद्धार गरिएको छ ।