
काठमाडौँ । प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ । संघीय संसद सचिवालयले सभापति चयनका लागि निर्वाचन सम्बन्धी सूचना प्रकाशन गरेको हो।
सभामुख देवराज घिमिरेले भदौ ११ गते बुधबारका लागि सभापति चयनका लागि तोकेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा भएको छेडखानीको नैतिक जिम्मेवारी लिदै पदबाट राजीनामा दिएपछि सभापति पद रिक्त छ ।
प्रतिनिधि सभा नियमावली अनुसार सभापतिको पद रिक्त भएको १५ दिनभित्र रिक्त रहेको सभापति चयन गरिसक्नुपर्ने प्रावधान गरेको छ।
दलीय सहमतिका आधारमा राज्य व्यवस्था समिति नेपाली कांग्रेसको भागमा परेकाले अन्य कुनै पद दलले सभापति दाबी गरेका छैनन्।
कांग्रेसले अझै पनि सभापति पदको उम्मेदवार तय गरेको छैन । यद्यपि, सभापति बन्नको लागि नेता दिलेन्द्र बडू र अम्बिका बस्नेतको विशेष चर्चा छ ।