गोरखा- गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले साउन अन्तिम साता काठमाडौं र चितवनमा सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि घुम्ती शिविर सञ्चालन गरेको छ । आफ्ना नागरिक बसोबास गरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि पालिकाले शिविर चलाएको हो ।
साउन २६ र २७ गते चितवन तथा २९ देखि ३१ गतेसम्म काठमाडौँमा शिविर सञ्चालन गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिए । जसबाट ४२५ जनाले सेवा लिएका छन् । चितवनमा भएको शिविरमा १२९ पालिकाबासीको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको उनले बताए ।
उनका अनुसार काठमाडौं बसोबास गर्ने २९६ जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ । नवीकरण गराउनेमा २४१ महिला र १८४ जना पुरुष रहेका छन् । गाउँपालिकाले अन्य जेष्ठ नागरिक भत्ता, जेष्ठ नागरिक दलित भत्ता, जेष्ठ नागरिक एकल महिला, पूर्ण अपाङ्गता भत्ता, अति अशक्त अपाङ्गता भत्ता, दलित बालबालिका गरी सात वटा लक्षित समूहको सामाजिक सुरक्षा भत्ता नवीकरण गराएको जनाएको छ । हरेक वर्ष भत्ताका लागि लाभग्राही सूची नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।
तर नागरिकहरू पालिकासम्म नआएपछि पालिका नै लाभग्राही खोज्न विभिन्न सहर पुगेर शिविर सञ्चालन गरेको हो । गाउँपालिकाका करिब ६ हजार नागरिकले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । तीमध्ये आधाभन्दा बढी पालिकाबाहिर रहेको आलेले जानकारी दिए । ३ हजार मात्रै गाउँमा छन् । बाँकी ५ सय जना गोरखा बजारमा, १ हजार जना जति चितवन र १५ सय जना जति काठमाडौँमा बसोबास गर्ने उनले सुनाए । पालिकाबाट बसाइसराइ पनि बर्सेनि बढ्दो क्रममा रहेको पालिकाले जनाएको छ ।





