Odapalika - The Fourth Estate - चौथो अंग
बारपाक सुलिकोट गाउँपालिकाको खुर्सानी खेतीमा रोग किराको आक्रमण

बारपाक- बारपाकको अकबरे खुर्सानी खेतीमा रोग किराले क्षति पु¥याएको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं. २ थैली तथा अन्य विभिन्न ठाउँको नीजि तथा सामुहिक व्यवसायिक अकबरे खुर्सानी खेतीमा रोग किराले क्षति पु¥याएको वडा अध्यक्ष पूर्णबहादुर गुरुङले जानकार दिए । 

रोग किराले किसानको विभिन्न ठाउँको गरी करिब पाँचसय रोपनीमा लगाइएको अकबरे खुर्सानी २५ प्रतिशतभन्दा धेरै नष्ट गरेको उनले बताए ।

बारपाकमा बिगत तीनबर्षदेखि व्यवसायिक खुर्सानी खेती गर्न सुरु गरिएको थियो । ‘एक महिनाजति भयो यहाँ रोग किराले खुर्सानी नष्ट गर्न थालेको’, वडाअध्यक्ष गुरुङले भने । 

झन्झन् समस्या बढ्दै गएपछि किसानहरुले कृषि विज्ञहरुलाई गुहारेका छन् । किसानको अनुरोधमा कृषि ज्ञानकेन्द्र गोरखा र गाउँपालिकाको कृषि शाखाका कर्मचारीहरुल स्थलगत अध्ययन गरेका छन् । साथै विषादी पनि छर्केका छन् । 

‘केही दिनअघि कृषि ज्ञानकेन्द्र र गाउँपालिकाको कृषि शाखाको संयुक्त टोलीले स्थलगत अध्ययन गरी रोग पहिचान गरेको छ’, कृषि शाखा प्रमुख सन्तोष ढकालले भने, ‘अकबरेमा फ्रुट्स फ्लाई र फङ्गस डिजिज लागेको रहेछ । हामीले विषादी छर्केका छौँ । अब एक हप्तामा यसको परिणाम देखिनेछ ।’ एकहप्तापछि फेरि अनुगमन गरी थप उपचार गर्ने उनले बताए ।

‘नियन्त्रण हुने सम्भावना देखिन्छ’, उनले भने, ‘सुरुमै जानकारी गराएको भए सामान्य रुपमै निदान हुन्थ्यो । धेरै लामो समय बितेपछि मात्र खबर गरे । तैपनि नियन्त्रण उन्मुख छ ।’ बाली लगाउँदा क्रप्स रोटेशन गर्नुपर्नेमा नगरेकाले समस्या देखा परेको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update