
काठमाडौं । जेनजी पुस्ताले आज काठमाडौंलगायत देशका धेरै स्थानमा प्रदर्शन गर्ने भएको छ । सन् १९९७ देखि २०१२ भित्र जन्मेको ‘जेनजी’ पुस्ताले आज प्रदर्शन गर्न लागेको हो । काठमाडौंमा माइतीघरमा प्रदर्शन हुनेछ ।
तीन दशकदेखि निरन्तर लुट र विलासितामा डुबेका शासकवर्गविरुद्ध निर्णायक विद्रोह तयारीमा जेनजी लागेका हुन् । सरकारले भदौ १२ गते सात दिनको समय दिएर २६ सामाजिक सन्जाल निष्क्रिय गर्ने निर्णय गरेको थियो ।
सरकारले अचानक सामाजिक सञ्जाल बन्द गरेपछि यसले सबैभन्दा बढी प्रभावित आफूहरू भएको जेनजी पुस्ताको दाबी छ ।
सामाजिक सञ्जाल प्लेटफर्ममा अभ्यस्त यस पुस्ताले आज बृहत् प्रदर्शन गर्न लागेको हो । सामाजिक सञ्जालको पहुँच बन्द गर्ने सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रता सीमित हुने भएकाले नागरिकले आफ्ना विचार खुला रूपमा व्यक्त गर्न नपाउने भन्दै उनीहरूले सरकार विरुद्ध स्वतः स्फूर्त प्रदर्शनको घोषणा गरेका छन् ।
सरकारको कदमले युवामाझ आपसी सम्पर्क, सिर्जनशीलता र समूहगत गतिविधिमा कमी आउने, आर्थिक दृष्टिले हेर्दा अनलाइन व्यापार, ई–कमर्स, डिजिटल मार्केटिङ र विज्ञापन उद्योग ठप्प हुने खतरा रहेको भन्दै जेन्जीले प्रदर्शनको घोषणा गरेका हुन् ।
जेनजीको प्रदर्शनलाई कलाकार, कन्टेन्ट क्रियटर्सलगायतले साथ दिएका छन् । टिकटकलगायतका प्लेटफर्म धेरै फ्लोवर्स भएका प्रयोगकर्ताले राजनीतिकरण हुन नदिन पनि अपिल गरिरहेका छन् ।
राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी सोमबार (आज) देखि भ्रष्टाचार र अन्यायविरुद्ध सडकमा उत्रिने घोषणा गरेको छ ।
जेनजी पुस्ताले विद्रोह केवल सरकार बदल्ने होइन, सम्पूर्ण राजनीतिक व्यवस्था बदल्ने प्रदर्शन भएको दाबी गरेको छ ।
विद्रोहको मूल लक्ष्य नेपालको सम्पूर्ण ध्यान विकास र तीव्र आर्थिक वृद्धिमा केन्द्रित गराएर केही दशकभित्रै नेपाललाई विश्वका उन्नत राष्ट्रहरूको पंक्तिमा उभ्याउने रहेको उल्लेख छ ।
“अब हामी चुप बस्दैनौं ! डराउँदैनौं ! हामी झुक्दैनौं ! अब हामी उठ्छौं ! भदौ २३ गते जनताको ज्वालामुखी सडकमा फुट्नेछ,” जेनजीको वक्तव्यमा भनिएको छ ।