
काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मेटा, एक्स लगायतका सामाजिक सञ्जालहरूले नेपाललाई भ्रष्ट मुलुक भन्दै नेपालमा दर्ता हुन अस्वीकार गरेको जानकारी दिएका छन्।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
मन्त्री गुरुङले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध फिर्ता लिइएको पनि जानकारी दिए।
उनले प्रतिपक्षी दलहरूले सडकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मगेको सन्दर्भमा प्रतिक्रिया दिँदै भने, “अहिले प्रधानमन्त्रीको राजीनामा आउँदैन। प्रतिपक्षी दलहरूले अहिले सडकमा बसेर मागेर हुँदैन।”
बैठकले प्रदर्शन हिंसामा परिणत भएपछि घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय पनि गरेको छ। समितिले १५ दिनभित्र छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ। समितिमा रहने सदस्यहरूको नाम भोलि बिहानसम्म सार्वजनिक गरिने बताइएको छ।
सोमबार भ्रष्टाचार नियन्त्रणको मुख्य मागसहित जेनजीहरूले काठमाडौँसहित मुख्य सहरहरूमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा १७ भन्दा बढीको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन्। घटनापछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्।