Odapalika - The Fourth Estate - चौथो अंग
चीनबाटै शेखरले आफ्ना समूहका मन्त्रीलाई भने : तत्कालै राजीनामा दिनू

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका नेता शेखर कोइरालाको समूहबाट सरकारमा मन्त्री रहेकाहरूले राजीनामा दिने भएका छन्।

हाल चीन भ्रणमा रहेका नेता कोइरालाले फोन गरेर राजीनामा दिन निर्देशन दिएको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिए।

‘म राजीनामा दिने तयारीमा छु, अरू साथीहरूसँग सल्लाह गर्दै छु’, उनले भने, ‘कर्फ्यु लागेकोले बाहिर निस्किन मिलेन, म त मन्त्रालय पनि जान्नँ।’

सोमबार जेन-जीले गरेको विरोध प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जना युवा मारिएपछि सरकारको चर्को आलोचना भइरहेको छ।

कांग्रेसबाटै गृहमन्त्री बनेका रमेश लेखकले त घटनाकै दिन सोमबार साँझ पदबाट राजीनामा दिइसकेका छन्।

शेखर समूहबाट सरकारमा अधिकारी कृषिमन्त्री, बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री छन्।

त्यसो त सत्तारुढ दलकै नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीकै राजीनामा मागिरहेका छन्। तर यसप्रति अहिलेसम्म ओलीले कुनै चासो देखाएका छैनन्।

यसैबीच जेनजीले आफ्नो आन्दोलन जारी राखेको छ। आज पनि युवाले बानेश्वरमा बिहानैदेखि विरोध प्रदर्शन सुरु गरिसकेका छन्। जहाँ सोमबार प्रहरीको गोलीबाट विद्यार्थीसहित १७ युवा मारिएका थिए।

उपत्यकाबाहिर पनि सोही आन्दोलनमा २ जना मारिएको प्रहरीले नै पुष्टि गरिसकेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update