Odapalika - The Fourth Estate - चौथो अंग
कस्तो छ सिंहदबार ? 

काठमाडौं । शासनको केन्द्रबिन्दु मंगलबार सिंहदरबार परिसर पुग्दा त्यहाँ खरानीका भएका मन्त्रालय पस्दा सास फेर्न समेत समस्या भयो । पार्किङ गरिएका अधिकांश सवारीमा तोडफोड र आगजनी भएको देखिन्छ । नयाँ पुराना धेरै सवारी साधान खरानी भएका छन् ।

अराजक समूह अचानक सिंहदरबार क्षेत्र पसेपछि अगाडि देखिएको भौतिक संरचनाहरूमा तोडफोड र आगजनी गरेका थिए । सिंहदरबारको पश्चिम खण्डमा रहेको नेपाली सेनाको गणमा कुनै क्षति भएको देखिँदैन भने बाँकी मन्त्रालयहरूमा अराजक समूहले आगजनी र तोडफोड गरेका थिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कुनै क्षति भएको छैन । उक्त मन्त्रालय अगाडिका र पार्किङका सवारीमा क्षति भएको पाइएन । प्रदर्शनकारीको हुल सिंहदरबारको मूल गेटबाट अघि बढेर बन्दै गरेको सिंहदरबारको मुख्य भवनमा आगो लगाएका थिए । रेट्रोफिट गरेर सञ्चालनमा समेत नआएको यस भवन पूर्ण रुपमा जलेको छ । प्रधानमन्त्रीको कार्यालयतर्फ पश्चिम खण्ड आगजनीले पूर्ण क्षति भएको छ । उक्त भवनको पूर्वतर्फको पहिलो तलामा आगजनी भएको छ । 

उक्त आगजनीका कारण खरानीले मन्त्रालय प्रवेश गर्न सकिने अवस्था छैन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगै रहेको परराष्ट्र मन्त्रालयको एक महाशाखामा गेटमा सवारी साधान आगजनी गरिएको छ । उक्त महाशाखाको झ्यालका सीसा फुटेको छ । प्रदर्शनकारीले रेडियो नेपालमा कुनै क्षति गरेको देखिएन । नेकपा एमाले तथा नेपाली कांग्रेसको संसदीय दलको कार्यालय ध्वस्त भएको छ  ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पार्किङ पूर्ण क्षति भएको छ । उक्त मन्त्रालय भुई तलमा आगजनी गरिए पनि आगो अन्य ठाउँमा नसल्केका कारण मन्त्रालय बचेको छ । मन्त्रालयको सीसा तथा कोठाहरूमा क्षति पुगेको छ । आंशिक क्षति भएको यस मन्त्रालयमा काम गर्न सक्ने वातावरण रहेको सफा गर्दै गरेका कर्मचारी बताउँछन् ।

अर्थमन्त्रालयअगाडि पार्किङमा राखिएका सम्पूर्ण सवारी साधान खरानी भएका छन् । सवारी साधान जलाएपनि मन्त्रालय भने आगजनीबाट बचेको छ । अर्थमन्त्रालयसँगै जोडिएको बजेट महाशाखा तर्फको टहरोमा आगजनी गरिएको छ । उक्त टहरोमा अझै धुँवा आइरहेको देखिन्छ । अर्थमन्त्रालयको अगाडि पार्किङ गरिएका सवारी साधनको सिसा फुटाइएका छन् । अर्थ मन्त्रालय अगाडिका परराष्ट्र मन्त्रालयमा क्षति देखिएन ।

अगाडि पार्किङमा राखेको सावरी साधनका सीसा फुटाइएको छ । सबैभन्दा क्षति गृह मन्त्रालयमा भएको देखिएको छ । गृह मन्त्रालय अगाडिको भाग आगोले पूर्ण क्षति भएको छ । प्रदर्शनकारीले गृह मन्त्रालयलाई पूर्ण क्षति बनाउने गरी आगजनी गरेको देखिन्छ । शिक्षा मन्त्रालय तथा सतर्कता केन्द्रको पार्किङ र भुई तलामा आगजनीका कारण आगोको लप्काले दोस्रो र तेस्रो तलासम्म पनि असर गरेको देखिन्छ ।

भुइँतलामा रहेका सम्पूर्ण संरचनाहरू जलेका छन् । पार्किङका गाडीहरू कुनै पनि सकुसल नरहेको तल आगलागी हुँदा माथि र आगोको लप्काले भेट्दा तत्काल काम गर्न सक्ने अवस्था समेत देखिँदैन ।

पहिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय भने प्रदर्शनकारीको आगजनी तथा तोडफोडबाट बचेको छ । झ्यालहरूमा सामान्य क्षति भएपनि अन्य कुनै क्षति भएको छैन । उक्त मन्त्रालयमा कर्मचारीले सेवा सुरु गरिसकेका छन् । उक्त मन्त्रालयका पार्किङमा राखिएका सवारी साधानको सीसा फुटेका छन् । पार्किङमा रहेका १४ वटा मोटरसाइकल भने जलाइएका थिए । सहरी विकास मन्त्रालयमा पनि अराजक समूहबाट बचेको छ ।

उक्त मन्त्रालयको पार्किङमा रहेका सवारीमा आगजनी गरिएका छन् । सन्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल टेलिभिजन तथा राष्ट्रिय योजना आयोग पनि अराजक समूहबाट बचेको छ । संघीय संसद् सचिवालय दुवै भवन आगजनीबाट बचेका छन् । संघीय संसद सचिवालयको दुई नं. भवन आफूहरूले आग्रह र बिन्तीका कारण बचेको मर्यादापालक बच्चुराम बुढाथोकीको दाबी छ ।  

संस्कृति पर्यटन तथा नागरिक उडान मन्त्रालयका झ्यालका सिसाहरू फुटेता पनि बाँकी क्षति भएको छैन । उक्त मन्त्रालयका अगाडि पार्किङ गरिएका सवारी पूर्ण रुपमा जलाइएका छन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालय रहेको भवनमा आंशिक क्षति भएको छ । मन्त्रालयका अगाडि राखिएका सवारी साधनमा आगजनी गरिएका कारण धुवा र खरानी मन्त्रालय भित्र पसेपनि कर्मचारीले सफा गरेका छन् । दुवै मन्त्रालयबाट कार्यसंपादन सुरु भएको छ ।

मन्त्रालय अगाडिका सवारी साधन कुनै पनि सकुसल छैनन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रवेशद्वारमा सवारी साधन आगजनी गरिएको छ । मन्त्रालयभित्र आगजनी भएको देखिँदैन । मन्त्रालयका झ्यालका सीसाहरू फुटेका छन् । युवा तथा खेलकुद मन्त्रालयको पार्किङका सवारी जलेका कारण त्यसको लप्काले केही कोठाहरू भेटेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तथा युनेस्को निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय रहेको यस भवनमा आंशिक क्षति पुगेको देखिन्छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भने अराजक समूहबाट बचेका छन् ।

मन्त्रालय अगाडिको सवारीमा अराजक समूहले आगजनी गरेर खरानी बनाएका छन् । भौतिक संरचना भने सकुशल छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अगाडि आगो लाग्दा एउटा कोठा पूर्ण रुपमा जलेको छ । मन्त्रालय पहिलो तलामा आगो लाग्दा बाँकी कोठाहरूमा धुँवा र खरानीले भरिएका छन् ।

वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका झ्यालका सिसा केही फुटेतापनि बाँकी क्षति भएको देखिँदैन । पार्किङमा राखिएका सवारी साधन भने अराजक समूहले ध्वस्त पारेका छन् । 


 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update