Odapalika - The Fourth Estate - चौथो अंग
नयाँ सरकारलाई भारत, चीन र अमेरिकाले कसरी लिए ?

काठमाडौं । जेनजी (विद्यार्थी)को दुइ दिने प्रदर्शनले नेपालमा व्यापक राजनीतिक उथलपुथल ल्याएको छ । भदौ २३ र २४ गतेको प्रदर्शनीमा ७२ जनाभन्दा बढी प्रदर्शनकारी, सुरक्षाकर्मी र कैदीबन्दीले ज्यान गुमाए । 

संसद भवन, सिंहदबार, सर्वोच्च अदालत, मन्त्री निवासलगायतका देशभर सार्वजनिक र निजी सम्पत्तिमा आगजनी र तोडफोड गरियो । जेनजीको प्रदर्शन थेग्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न मात्र बाध्य भएनन्, उनी बालुवाटर छोडेर होलिकप्टरमा सुरक्षित स्थानमा जानुप¥यो । 

आन्दोलनलाई सम्मान गर्दै राष्ट्रपतिले पूर्वन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरे भने उनकै सिफारिसमा संसद विघटन पनि । भदौ २३ गतेयता भएका यी उथुलपुथलले नेपालमा मात्र होइन विश्वभर तरंग ल्याएको छ । भारत, चीन, अमेरिका, बेलायत, पाकिस्तान, बंगलादेश लगायतका देशले प्रतिक्रिया जनाएका छन्। 

“साथीहरू, नेपालमा भएको घटनाक्रममा अर्को एक विशेष कुरा छ, जसमा  मानिसहरूले ध्यान दिएका छैनन्,” भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मणिपुरमा एक सभालाई सम्बोधन गर्दै भने, “पछिल्ला दुई–तीन दिनदेखि, नेपालका युवा युवतीहरू धेरै कडा परिश्रम र शुद्धताको भावनाका साथ नेपालका सडकहरू सफा गर्दै र रंग लगाउँदै गरेको देखिन्छन् ।” यस्ता तस्बिरहरु आफूले सोसल मिडियामा देखेको भारतीय प्रधानमन्त्री मोदीले जनाए । 

उनले आगाडि भने, “उनीहरूको यो सकारात्मक सोच, यो सकारात्मक काम प्रेरणादायी मात्र नभई नेपालको नवोदयको स्पष्ट संकेत पनि हो । म नेपालको उसको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछु ।” मणिपुरको सभालाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले केही मिनेट नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका खर्चेका थिए । उनले मणिपुरबाट नेपालका साथीहरुसँग कुरा गर्ने बताएका थिए । 

“हिमालयको काखमा बसेको नेपाल भारतको एक साथी हो, घनिष्ठ मित्र हो । हामी साझा इतिहासद्वारा जोडिएका छौं, आस्थाद्वारा जोडिएका छौं र सँगै मिलेर अगाडि बढिरहेका छौं,” मोदीले नेपाल–भारत सम्बन्धलाई यसरी प्रशंसा गरेका थिए ।  भारतीय प्रधानमन्त्री मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार सम्हालेकोमा १४० करोड भारतवासीहरूको तर्फबाट सुशीला कार्कीलाई बधाई दिएका थिए । 

 “उहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ भन्ने मलाई विश्वास छ । नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीलाजीको आगमन महिला सशक्तीकरणको एक उत्कृष्ट उदाहरण हो,” मोदीले भने, “म आज नेपालको प्रत्येक व्यक्तिको प्रशंसा गर्दछु जसले यस्तो अस्थिर वातावरणमा पनि लोकतान्त्रिक मूल्यमान्यतालाई सर्वोच्चमा राख्यो ।” 

गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रदर्शनकारीले प्रस्ताव गरका सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । त्यस लगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मार्फत उनलाई बधाई दिएका थिए । 

“नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ,” मोदीले लेखेका थिए । 

भारतीय प्रधानमन्त्रीले लगातर दुई दिन नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामन दिएका थिए । भारतको विदेश मन्त्रालयले पनि शुक्रबार राती नै एक विज्ञप्ति जारी गर्दै नेपालमा भएको राजनीतिक घटनाक्रमको स्वागत गरेको थियो । विज्ञप्तिमा कार्कीको नेतृत्वले नेपालमा शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिएको थियो । “नजिकको छिमेकी, लोकतान्त्रिक साथी र दीर्घकालीन विकास साझेदारको रुपमा भारत हाम्रा दुई जनता र देशहरुको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहनेछ,” भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको थियो । 

चीनले भने कार्की प्रधानमन्त्री भएको पर्सीपल्ट मात्र प्रतिक्रिया जनायो । चीनले नेपाली समयअनुसार आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको थियो । 

बेइजिङमा आयोजित पत्रकार सममेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिएका हुन् । सेप्टेम्बर १२ मा नेपालकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशको अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभयो, चीनको टिप्पणी के छ ? भनी पत्रकारले सोधेको प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ताले भने, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकोमा चीनले सुशीला कार्कीलाई बधाई दिन्छ ।” 

नेपाल र चीनबीच लामो समयदेखि मैत्री सम्बन्ध रहँदै आएको चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता सम्मेलनमा स्मरण गरेका थिए । चीनले सधैं जस्तै नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने उनले स्पष्ट जनाए । “हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूलाई प्रवद्र्धन गर्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन नेपालसँग काम गर्न तयार छौं,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् । 

काठमाडौंस्थित अमेरिकी दूतावासले पनि आइतबार एक विज्ञप्ति जारी गर्दै गत हप्ताको दुःखद घटनाहरूपछिको शान्तिपुर्ण समाधानको स्वागत गरेको छ । 

“नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सम्माननीय सुशीला कार्की नियुक्त हुनुभएको छ,” दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गत हप्ताको दुःखद घटनाहरूपछिको शान्तिपूर्ण समाधानको हामी स्वागत गर्दछौं ।” 

लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको अमेरिकी दूतावासले प्रशंसा गरेको छ । संक्रमणलाई सहज बनाउदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनस्र्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई दूतावासले सम्मान व्यक्त गरेको छ । 

“अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी नेपालसँग सहकार्य गर्न तयार छौं,” अमेरिकी दूतावासले भनेको छ । 

भारत, चीन र अमेरिकाका विज्ञप्तिमा केही कुरा समान छन् । उनीहरुले परिवर्तनलाई स्वीकार्दै नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई र शुभकामना दिएका छन् । तीनै राष्ट्रले नवनियुक्त प्रधानमन्त्रीलाई स्वागत गरेका छन् ।

 तीन देशको विज्ञप्तिमा सबैभन्दा महत्वपूर्ण साझा कुरा के छ भने– भारत, चीन र अमेरिकाले नेपालको अन्तरिम सरकारसँग सहकार्य गर्न तयार रहेको घोषणा गरेका छन् । बेलायतले पनि अन्तरिम प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको नियुक्तिलाई महत्वपूर्ण बताएको छ । 

काठमाडौंस्थित बेलायती दूतावासले शुक्रबार नै विज्ञप्ति जारी गर्दै सो कुरा बताएको थियो । बेलायती समावेशी शासनको लागि नेपाललाई समर्थन गर्ने प्रतिबद्धता जनाएको थियो ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update