
पर्वत । मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन चिस्यान गृह (कोल्ड स्टोर) विगत नौ वर्षदेखि अधुरो छ ।
आर्थिक वर्ष ०७३/७४ मा ५ करोड रुपैयाँको लागतमा निर्माण सुरु भएको चिस्यानगृहले पूर्णताः पाउन नसकेको हो । बेमौसमी फलफूल र सागसब्जी ताजा राख्न चिस्यानगृह निर्माण थालिएको थियो । सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको हो ।
स्थानीय खेमबहादुर हमाल र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको चिस्यानगृह एक तला बनेपछि अलपत्र अधुरो छ । हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा चिस्यानगृह निर्माण गर्ने सम्झौता भएर एकतल्ला निर्माण गरिए पनि अहिले अपूर्ण संरचना जीर्ण छ ।
आफ्नै घर आँगनमा चिस्यानकेन्द्र बनेका देख्दा उत्साहित किसान त्यसले पूर्णता नपाउँदा खिन्न छन् । स्थानीय प्रेमबहादुर हमाल, मानबहादुर पौडेल र मनोजकुमार शर्माको रोहवरमा हमाल दम्पतीको सात आना एक दाम जग्गा १३ लाख ५० हजार रुपैयाँमा खरिद गर्ने गरी तमसुक गरिएको थियो ।
चिस्यानगृह निर्माण समितिका अध्यक्ष गङ्गा तिमिल्सिनाका अनुसार सुरुको वर्ष ५० लाख रुपैयाँ विनियोजन गर्ने सम्झौता भएको थियो, तर २४ लाख रुपैयाँभन्दा आएन ।
‘क्रमिक रूपमा बजेट आउँछ भन्ने थियो । २४ लाख रुपैयाँ विनियोजन भएपछि काम सरु गरिहाल्यौँ । इस्टिमेटअनुसार बजेट नआएपछि काम अघि बढ्न नसकेको हो,’ उनले भने ।
योजनाअनुसार ५० टन क्षमताको दुई तले चिस्यान केन्द्र निर्माणको काम एक वर्षमा सक्ने लक्ष्य रहेको थियो । मोदी गाउँपालिका–२ देउपुरका तत्कालीन वडाध्यक्ष विकास तिमिल्सिनाले चिस्यानकेन्द्र निर्माणका लागि गाउँपालिका, प्रदेश र केन्द्रसम्म अनुरोध गरेको भए पनि सुनुवाइ नभएको बताए ।
जग्गा व्यवस्थापनको लागि वडाबाट १५ लाख रुपैयाँ विनियोजन गरेको भए पनि जग्गा खरिदमा सहमति हुन नसक्दा काम अगाडि बढ्न नसकेको उनको भनाइ छ ।
मोदीको देउपुर सुन्तलाको पकेट क्षेत्र हो । यहाँ बर्सेनि ४ करोड रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन हुन्छ । क्याङ र लेस्पार आलु उत्पादनको लागि उर्बर भूमि हो । यहाँको आलु र सागसब्जीको बीउ स्थानीय बजारलगायत सदरमुकाम कुस्मा र पोखरासम्म बिक्री हुने गरेको छ ।