Odapalika - The Fourth Estate - चौथो अंग
पर्साका सबै स्थानीय तहमा हैजाविरुद्धको खोप दिइँदै

वीरगन्ज । पर्साका १४ वटै स्थानीय तहमा आइतबार (असोज २६)देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पर्सामा गएको भदौ पहिलो साता हैजाको संक्रमणका बिरामी देखा परेका थिए ।

१४ वटै पालिकामा असोज २६ देखि आउँदो कात्तिक २  गतेसम्म हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय पर्सा जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले आइतबारदेखि पर्सामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । “यहाँ भदौको पहिलो साता हैजाका बिरामी देखा परेकाले पनि खोप अभियान सञ्चालन गर्न लागेका हौँ । यो खोप अभियानले हैजाको संक्रमण न्यूनीकरण गर्न सघाउ पुग्ने विश्वास लिएका छौँ ।”

अभियानका निम्ति स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार १०० मात्रा खोप पर्सा र बारामा पठाइएको जनाएको छ । यो अभियानमा एक वर्षभन्दामाथि उमेर समूहका सबैलाई खोप दिइनेछ । प्रतिकार्यस्वरूप सञ्चालन गर्न लागिएको हैजाविरुद्धको अभियानमा एकपटक खोप दिइनेछ । 

यो मुखबाट खुवाइने खोप हो । यो सुरक्षित रहेको महाशाखाले जनाएको छ ।

यो खोप एक वर्षभन्दा माथिको उमेरका सबैले खानुपर्छ । गर्भवती र स्तनपान गराइरहने महिलालाई पनि यो खोप दिन सकिने जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए ।

बारामा भने असोज २९ देखि सुरु गरेर तिहारअघि सकाउने महाशाखाको योजना छ । 

पर्सामा ६ लाख ५२ हजार ११९ जनालाई खोप दिइनेछ ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update