Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्र र राष्ट्रियता सङ्कटमा छ, एकजुट भएर अघी बढ्नुपर्छ: नेता श्रेष्ठ
तस्बिर: रासस

ललितपुर। नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि सङ्कट परेको अवस्थामा पार्टीगत हीत तथा पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्ने बताएका छन्।

ललितपुरमा आज पत्रकार सम्मेलन गर्दै पूर्वउपसभापति श्रेष्ठले दलभन्दा माथि उठेर राष्ट्रिय एकताका लागि नेपाली कांग्रेसको नेतृत्वले समस्या समाधानको पहल गर्नुपर्नेमा जोड दिएका हुन्। राजनीतिक दल लोकतन्त्रका वाहक भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको विकल्प नभएको बताए।

पार्टीमा सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरे पनि अरूले त्यस्तो अग्रसरता देखाउन नसकेको श्रेष्ठको भनाइ थियो । विगतका आठ राजनीतिक दल मात्रै हैन, अब नयाँ राजनीतिक दललाई पनि संवादमा समावेश गरेर अगाडि बढ्नुपर्ने पनि सो क्रममा उनले बताए।

“अग्रजहरुलाई निषेध गरेर पनि राजनीति अगाडि बढ्न सक्दैन, सबैसँग समन्वय गरेर अगाडि बढ्नुपर्छ,” उनले भने। श्रेष्ठले पार्टीमा नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्न सक्दो सहयोग गर्ने बताए। वर्तमान समस्याहरूको समाधान राजनीतिक दलहरूभित्रबाटै गर्नुपर्ने भन्दै उनले निषेधको राजनीति त्यागेर सहकार्य, सहअस्तित्व र संवादमार्फत अगाडि बढ्नुपर्नेमा उनको जोड थियो।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update