काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ । फ्लडलाइट निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीले आइतबार मात्रै दुई वटा पोल उठाएपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको छ ।
रङ्गशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान गरिएको हो । पोल नं १, ४, ५ र ६ मा फ्लडलाइट आंशिक रूपमा जडान भइसकेको छ । पोल ठड्याइसकिएकाले दुई वटामा लाइट राख्ने काम सुरु हुने आयोजना प्रमुख चक्रवर्ती कण्ठले बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले गत २३ असोजमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको अनुगमन गरेका थिए । दुवै निर्माण व्यवसायीले नेपाल प्रिमियर लिग (एनपिएल) भन्दा अगावै प्याराफीट र फ्लडलाइट जडान सक्ने प्रतिबद्धता जनाएका थिए । प्याराफीटको निर्माण व्यवसायीले काम सम्पन्न गरिसकेको छ । एनपिएल आगामी १ मङ्सिरबाट सुरु हुँदै छ ।
सरकारले गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गर्दै रङ्गशाला विस्तारका लागि दोस्रो चरणको निर्माण सुरु गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद्को ३० असोजको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरुयोजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गर्दै दोस्रो चरणको निर्माण अगाडि बढाउने निर्णय गरेको थियो ।






