
काठमाडौं - आफूले पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्का भागेको भनेर अन्तर्वार्ता दिएपश्चात् उनी नेपाल फर्किएको गृहमन्त्री ओमप्रकाश अर्यालले दाबी गरेका छन् । सोमबार सिंहदरबारमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले सो बताएका हुन् ।
“उहाँ आफैँले भन्नुभएको छ, उहाँ स्थलमार्गबाट भारत गएको थिए भनेर । उहाँ कहिले जानुभएको थियो ? उहाँलाई सोध्नुपर्यो नि‚” गृहमन्त्री अर्यालले भने‚ “ मैले कुन दिन बोलेको थिए, मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो ? अन्तर्वार्ता छापिएपछि आउनुभयो नी उहाँ त ।”
गृहमन्त्री अर्यालले आइतबार सञ्चारमाध्यममा पूर्वमन्त्री खड्का नेपाल छाडेर भागेको र केही नेता भाग्ने क्रममा रहेको अन्तर्वार्ता दिएका थिए । सोमबार पूर्वमन्त्री खड्काले आफ्नै घरमा पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेका थिए ।