Odapalika - The Fourth Estate - चौथो अंग
उज्यालो पर्वमा अँध्यारो : विपीनको शव घरमा

काठमाडौं । कोठाको एउटा कुनामा आमा, बुवा, अर्को कुनामा बहिनी छिन् । दिउँसैदेखि उनीहरू मौन छन्, अनि घरमा कुनै दीप बलेको छैन । तिहारको उल्लास बढ्दै जाँदा टोलमा देउसी, भैली र तिहारका गीत बजिरहेछन् । भारतसँग सीमा जोडिएको यो सहरमा छिनछिनमा पटका पड्किरहेछन् तर यो घरलाई ती केहीले छोएको छैन ।

भीमदत्त–३, कञ्जनपुरस्थित एउटा एकतले घरमा दिउँसैदेखि मान्छे आउने जाने मात्र गरिरहेछन् । ती कोही भैली खेल्न आएका होइनन् । वातावरण पूरै सन्नाटा छ ।

हो, चौधरीमार्ग–६० स्थित यो घरको व्यथा फरक छ । वरपरका धेरै घरहरूभन्दा भिन्न । 

फ्लाई दुबई यूएईको सरकारले सञ्चालन गरेको वायुसेवा कम्पनी हो । यसले काठमाडौंका लागि दैनिक आठवटा उडान गर्छ । सधैँझैँ सोमबार लक्ष्मीपूजाको दिन पनि फ्लाई दुबईको फ्लाइट नम्बर ५३९ काठमाडौं अवतरण गर्‍यो । दिउँसो २ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइटले धेरै नेपाली स्वदेश फर्कायो । जहाजले ल्याएकामध्ये एकजना थिए– विपीन जोशी ।

तर, होइन । उनको कथा फरक छ । फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड ५३९ काठमाडौं अवतरण गर्दा भीमदत्त–३ स्थित जोशी परिवारमा पीडा अझ थपियो । त्यो उडानले विपीनको शव स्वदेश फर्काएको थियो । 

नेपाली सेनाको स्काइ ट्रकले साँझ ६ः१० बजे शवलाई काठमाडौंदेखि धनगढी विमानस्थल ल्याइपुर्‍यायो । त्यहाँदेखि महेन्द्रनगरसम्मको दुरी सवार साधनलाई एक घण्टाको हो । सेनाले समन्वय गरेको शव सोमबार राति ७ः५० मा भीमदत्त–३ स्थित घरैमा पुग्दा त्यहाँको अवस्था दर्दनाक देखियो ।

आफ्नै आर्शीवाद शिरोपर गरेर इजरायल गएको छोरा कफिनमा फर्किंदा आमा पदमाको भक्कानो फुट्यो । उनले आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् । डाको छोडेर रुँदारुँदा उनी अर्धचेत भइन् । उनलाई पानी छम्किएर शान्त गराउनु परेको थियो ।

छोराको शव आफ्नै आँगनमा आइपुग्दा बुवा महानान्द भक्कानिए । बहिनी पुष्पा भावविह्ल बनिन् । भीमदत्त नगरपालिका–३ स्थित बिचपुरी मल्किार्जुन टोलमा सन्नटा छायो ।

कञ्जनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार विपीनको अन्त्येष्टि भोलि मंगलबार महाकाली नदीको घाटमा हुनेछ ।

सन् २०२३ मा कृषिविज्ञान अध्ययनका लागि इजरायल गएका उनी हमासको आक्रमणमा घाइते भएका थिए । किब्बुज, आलुमिमा भएको आक्रमण पछि अपहरणमा परेका उनको मृत्यु भइसकेको भनेर इजरायल सरकारले सन् २०२५ अक्टोबर १५ मा पुष्टि गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update