
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार ‘जेनजी’ आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन् । मंगलबार बालुवाटारमा जेनजी प्रदर्शनका घाइतेसँगको छलफलका क्रममा उनले आन्दोलनको मर्मभन्दा बाहिर नजाने र प्रक्रियासम्मत ढंगले कानुनी रूपमा तल नपर्ने गरी काम गर्ने बताएकी हुन् ।
जनेजी आन्दोलनले दिएको ‘म्यान्डेट’अनुसार चल्ने र सरकारले तोकेको समयमा नै निर्वाचन हुने उनले उल्लेख गरिन् ।
प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अनुसन्धान पनि गरिने बताइन् । राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेको उनले जानकारी दिइन् ।
छलफलका क्रममा जेनजी आन्दोलनका घाइतेले भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिए । भ्रष्टाचारीमाथि कारबाही नगरिए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका थिए ।
छलफलमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आन्दोलनपछि यसअघिको सरकार र प्रतिनिधिसभा विस्थापन गरिए पनि पुरानै संरचना कायम रहेकाले काम गर्न असहज भइरहेको बताए ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा गरिएको दमनबारे छानबिनमा भएको कार्यप्रगतिका विषयमा घाइतेलाई अवगत गराएका थिए ।
घाइतेले जेनजीले उठाएका मुद्दामा भन्दा निर्वाचनमा मात्र सरकारको ध्यान गएको भन्दै आपत्ति जनाएका थिए । जेनजी आन्दोलनका क्रममा घाइते भएका रुपिन खड्काको नेतृत्वमा १८ जनाको समूहले प्रधानमन्त्रीसँग छलफल गरेको हो ।