त्रिशूली - नुवाकोटको ककनी गाउँपालिका–१, जलकुनीमा मंगलबार (कात्तिक ४) आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । आगलागीबाट नगद, गरगहनासहित अन्नबाली, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट भएको छ ।
आगलागीमा परी एक करोड रुपैयाँबराबरको धनसम्पत्ति क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी विक्रम लामाले जानकारी दिए । उनका अनुसार, बलराम बलामीको घरबाट आगलागी सुरु भएको थियो । जोडिएको अर्को घरमा पनि आगो फैलिएको थियो ।
“विद्युत् गडबडका कारण आगलागी हुँदा नगद १० लाखसहित रु २५ लाखबराबरको सुनचाँदीको गरगहना, १८ लाखबराबरको अन्नबाली र भाँडावर्तनसहित ढुंगामाटोले बनेका दुईवटा घर पूर्ण क्षति भएको छ,” डीएसपी लामाले भने, “स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासले मानवीय र पशुचौपाय क्षति हुनबाट जोगाइएको छ ।”
घरबासविहीन भएका पीडित परिवारलाई ककनी गाउँपालिकाले तत्कालका निम्ति अस्थायी संरचना निर्माण गरेर बस्ने प्रबन्ध मिलाएको छ । जिल्ला प्रशासनबाट नगद र रेडक्रस नुवाकोट शाखामार्फत गैरखाद्य (बन्दोबस्ती) सामग्री उपलब्ध गराउन सिफारिस गरिएको छ ।







