Odapalika - The Fourth Estate - चौथो अंग
झापामा यो वर्ष भएन बजार अनुगमन 

झापा - जेनजी आन्दोलन पछिको असहज परिस्थितिका कारण यसपटक जिल्लामा बजारको अनुगमन हुनसकेन । दसैँ र तिहार दुवै पर्वका बेला बजारको अनुगमन कसैले गरेनन् ।

बजारको स्वच्छताका लागि नियमित रूपमा बजार अनुगमन गर्दै आएका पालिकाहरु भदौ २४ गते आगजनी र तोडफोड भएपछि आफैँ विस्थापित अवस्थामा पुगे । अनुगमन टोलीको मुख्य सरोकारवाला प्रहरीका भवन जलेका छन् भने कतिपय हतियार भीडले लुटेर लगेको अवस्था छ । “अनुगमन गर्ने अवस्था नै रहेन,” विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौला भन्छन्, “नगरपालिका र प्रहरीका कार्यालय ध्वस्त भएका छन् । यस्तो विषम परिस्थितिमा अनुगमन कसरी गर्नु ? नगरपालिकाले अनेक प्रयत्न गरेर नागरिकलाई अतिआवश्यक सेवा प्रदान गर्ने कार्य बल्ल सुरु गरेको छ ।”

झापाका १५ पालिकामध्ये १४ वटा पालिकामा जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको थियो भने दर्जनौँ प्रहरी चौकी र इलाका प्रहरी कार्यालय त्यस्तै आगजनी र तोडफोडको सिकार भएका थिए । यसअघि विर्तामोड नगरपालिका बजार अनुगमनमा अन्य पालिकाको तुलनामा बढी सक्रिय रहँदै आएको थियो । कृषि थोक बजारमा विषादी अवशेष जाँचेर मात्र तरकारी तथा फलफूलको बिक्री वितरण गर्न दिइने कडा व्यवस्था लागू भइरहेको थियो ।

बजारको स्वच्छताका लागि अगुगमन गर्ने अधिकार स्थानीय पालिकाहरूले पाएका छन् । झापाको विर्तामोड, शिवसताक्षी लगायतका केही पालिकाले फर्मालिन रसायन प्रयोग भएको माछा बिक्री गर्न नपाइने नियम लागू गर्दै आएका थिए । जेनजी आन्दोलनपछिको असहज अवस्थामा मरेका माछाको बिक्री वितरण खुल्ला रूपमा हुने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी तेजप्रकाश प्रसाईले प्रशासनको समन्वयमा स्थानीय पालिकाले बजार अनुगमन गर्दै आएको जनाउँदै जेनजी आन्दोलन र त्यसपछि बाढीको समस्याका कारण सबैको ध्यान उद्धार, राहत र उपचारमा गएको बताए । “असोज १८ देखि २० गतेसम्मको अविरल वर्षाका कारण झापामा बाढी र डुबानको समस्या विकराल बन्यो,” सहायक प्रजिअसमेत रहेका प्रसाईले भने, “बजार अनुगमनभन्दा बाढी प्रभावितको राहत र उद्धारमा ध्यान दिनुपर्ने अवस्था आयो ।”

जेनजी आन्दोलनपछि बजार अनुगमनले निरन्तरता पाउन नसके पनि उपभोक्ताबाट कुनै गुनासो र उजुरी नआएको उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले कालो बजारी, कृत्रिम अभाव, अखाद्य वस्तुको मिसावट, नापतौलमा ठगीलगायत उपभोक्ता हितविपरीतका गतिविधि नगर्न सार्वजनिक रूपमा आग्रह गर्दै आएको उनले बताए ।

उपभोक्ता जागरण अभियान नेपालका झापा अध्यक्ष शालिकराम भट्टराईले अनुगमनको अभावमा बजारमा अराजकता फैलिएको बताए । “व्यापारीले जति भाउ बढाए पनि भएकै छ, कसैको नियन्त्रण छैन,” उनले भने, “बजार पूरै अराजक बनेको छ । तरकारी, खाद्य वस्तु, यातायात भाडा लगायतको मूल्यवृद्धि आकासिएको छ ।” उनले स्थानीय पालिकालाई तत्काल बजार अनुगमन गरेर उपभोक्ताको हितमा काम गर्न आग्रह गरे ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update