Odapalika - The Fourth Estate - चौथो अंग
चुनावमा भाग लिन दलहरू तयार, सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा सबै दलहरू निर्वाचनमा सहभागी हुन तयार भएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा निर्वाचनमा सहभागी हुन सबै दलहरू तयार भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनमा सहभागी हुन सबै दल तयार भए पनि सुरक्षा व्यवस्थाप्रति संशय व्यक्त गरेको बताए । छलफलमा जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको सम्बन्धमा छानबिन गरी दोषी उपर कारबाही गर्नुपर्ने माग दलहरूले राखेको मन्त्री खरेलले बताए । 

"फागुन २१ गतेको निर्वाचनका सम्बन्धमा छलफल भयो, सुशासन र भ्रष्टाचार नियन्त्रणकोबारे बारेमा छलफल भयो । जेनजी आन्दोलनको क्रममा भएको तोडफोडको बारेमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने विषयमा पनि छलफल भयो । सरकारको तर्फबाट निर्वाचनको वातावरण निर्माण गर्नको लागि गर्नुपर्ने कामहरुको सन्दर्भमा दलहरू सँग सेयरिङ गरेको छ," उनले भने, "आयोगले गर्ने निर्वाचनको सुरक्षा, स्रोत र साधनको बारेमा पनि दलहरूलाई जानकारी गराएको छ । राजनीतिक दलहरूको तर्फबाट सुरक्षाको वातावरण अलि बढी मिलाउनुपर्ने कुराहरू आएको छ । सबै दलहरूले चुनावमा भाग लिने कुरा गर्नुभएको छ । चुनावमा भाग लिइरहँदा सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ भन्ने चासो रहेको छ ।"

फागुन २१ मा हुने निर्वाचनमा सहभागी हुन दलहरू  तयार भए पनि त्यसको लागि सुरक्षाको प्रबन्ध सरकारले गर्नुपर्ने धारणा दलहरू को रहेको उनको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  ०५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update