काठमाडौँ । भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण हाल काठमाडौंँ उपत्यकामा धुम्म भइ वर्षा जारी छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
बागमती प्रदेशको उपत्यकामा वढी र अन्य जिल्लामा तुलनात्मक रुपमा कम पानी पर्ने विभागको भनाइ छ ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, मधेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना महाशाखाले जनाएको छ । यी क्षेत्रमा रातिपनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।
वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
 






                                        
                                        
                    
                    