काठमाडौं - नेपाली कांग्रेसको संस्थापन धारले २१ फागुनको संसदीय निर्वाचन पश्चात् मात्र पार्टीको १५ औँ महाधिवेशन गर्न सकिने निष्कर्ष निकालेको छ।
पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बुधबार(आज) ललितपुरको एक होटलमा बसेको संस्थापन समूहको बैठकमा उक्त निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । यसको अर्थ वैशाख अन्तिममा पार्टीको नियमित महाधिवेशन हुने ती नेताको भनाई छ ।
बैठकमा केही केन्द्रीय नेताहरूले चुनाव अधीनै महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए । जसका लागि बिहीबार अर्थात् भोलीबाट हुने केन्द्रीय समिति बैठकमा सोही अनुसार कार्यतालिका ल्याउनुपर्ने ती नेताहरूको धारणा थियो । तर‚ शीर्ष नेताहरू विमलेन्द्र निधि‚ कृष्ण सिटौला लगायतले भने चुनाव पश्चात् महाधिवेशन गर्नुपर्ने र सोही अनुसार केन्द्रीय समितिमा तालिका ल्याउनुपर्ने धारणा राखेका थिए।
“चुनाव पश्चात् महाधिवेशन गर्ने गरी तालिका ल्याउनुपर्ने बहुमत सदस्यहरूको मत छ । शीर्ष नेताहरूले पनि व्यवहारिक हुन र सोही अनुसार चुनाव पछिका लागि तालिका ल्याउनुपर्ने मत राख्नुभयो‚” ती नेताले भने।
संस्थापन समूहले विशेष महाधिवेशन भने गर्न नहुने स्पष्ट अडान लिनुपर्ने बैठकमा छलफल तथा निष्कर्ष निकालिएको त्यी नेताले बताए । साथै विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकाहरूलाई पनि विश्वासमा लिएर अघि बढ्नुपर्ने बैठकमा साझा धारणा बनेको अर्का नेताले बताए ।
“चुनावको मुखमा महाधिवेशन गर्न सकिँदैन । विशेष महाधिवेशन माग गर्नेहरूलाई पनि विश्वासमा लिएर जानुपर्छ भन्ने मत रह्यो‚” ती नेताले थपे ।





