काठमाडौँ । बंगालको खाडीमा विकसित 'मोन्था' चक्रवातको प्रभाव नेपालमा पनि सुरु भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मोन्था भारतको आन्ध्र प्रदेश हुँदै नेपालको तराई नजिकै आइपुगेको हो।
'बिहानैदेखि कोसी, मधेस, बागमती, लुम्बिनी र गणडकी प्रदेशमा मोन्थाको प्रभाव सुरु भइसकेको छ', उनले बिहीबार बिहान भनिन्।
जसका कारण यी प्रदेशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसम महाशाखाका अनुसार नेपालमा हाल मोन्था चक्रवातको प्रभावका साथै पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव छ।
आज यस्तो छ, वर्षा तथा हिमपातको सम्भावना-
आज दिउँसो : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशका धेरै स्थान, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाड तथा हिमाल भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाड तथा हिमाल भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ।
आज राति : कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका अधिकांश स्थान, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाड तथा हिमाल भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा भारी हिमपातका साथै कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।





